तनहुँ
कवियत्री नारायणी अधिकारीको ‘व्यास वाटिका’ आईतबार विमोचन गरिएको छ । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने तथा अग्रज स्रष्टाहरूले कविता संग्रहको संयुक्तरुपमा विमोचन गरेका थिए । कविता सङग्रहमा ५१ वटा समसमाहिक विषयका कविता समावेश गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख न्यौपानेले भगवान व्यासको अवतरण भूमि, आदिकवि भानुभक्त आचार्यको जन्मभूमी तनहुँलाई साहित्य, भाषा, सस्कृतिलाई जर्गेना गर्न व्यास नगरपालिकाले प्राज्ञिक समिति गठन कार्यलाई अघि बढाएको जानकारी दिए । कवितामाथि समीक्षात्मक टिप्पणी समीक्षक डा। यमनाथ तिमिल्सिनाले गरेका थिए । अधिकारीका कविता पढ्दा सरल तर गहिरो अर्थ बोम्नुका साथै प्रतीक र बिम्ब सशक्त रूपमा आएको बताए। कार्यक्रममा बोल्दै काशीनाथ न्यौपानेले छन्दमा कविता लेख्ने कार्य हराउँदै गएकोमा अधिकारीले छन्दमा कविता लेखेर छन्द संरक्षणमा योगदान दिएको बताए । कवित गद्यमा लेख्न भन्दा छन्दमा लेख्न उपयुक्त हुने उनको भनाई थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, गण्डकी वाङमय प्रतिष्ठान तनहुँको अध्यक्ष गौकुमारी न्यौपाने,निर्वतमान अध्यक्ष सागर उदाश,आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाट, छन्दकवि नारायणप्रसाद पोख्रेल,आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले लगायतले कविता मिठो शैलीमा लेखिएको र भविष्यमा पनि यस्तै कृति आउने अपेक्षा ब्यक्त गरे । यो कवयत्री अधिकारीको पहिलो कृति हो ।
















