तनहुँ । तनहुँको व्यास नगरपालिकाले आगामी फागुन २४ गते नारी दिवसको अवसरमा नगरपालिकाबाट सञ्चालित महिला हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ । दमौली देखी तनहुँसुर सम्म हुने उक्त दौड प्रतियोगता नगरपालिकाले विगतमा जस्तै गरी आयोजना गर्न लागेको हो ।
यस्तै सहिद दिवसमा गर्ने अल्ट्रा म्याराथन प्रतियोगिता कोभिडको तेस्रो लहरका कारण स्थगित भएको थियो । मानुङकोटदेखी पुलिमर्याङसम्म हुने उक्त अल्ट्रा म्याराथन फागुन २८ गते शनिबार आयोजना गर्ने व्यास नगरपालिकाले निर्णय गरेको छ ।
व्यास नगरपालिकाको स्थापना दिवस चैत्र ३० गते मनाउन नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा मुल समारोह समिति गतःन गरिएको छ । व्यास-१४ का वडाअध्यक्ष काजिमान श्रेष्ठको अध्यक्षतामा स्मारीका प्रकाशन समिति, व्यास-२ का वडाअध्यक्ष काशिराम श्रेष्ठको अध्यक्षतामा पुरस्कार छनौट सिफारिस समिति गठन गर्ने निर्णय गरिएको छ ।
आइतबार व्यास नगरपालिकाको नियमित बैठकले उक्त निर्णय गरेको हो । उक्त बैठकबाट शैक्षिक बेरोजगार महिलालाई दिने अनुदान सम्बन्धी कार्यविधि, २०७८, वैदेशिक रोजगारबाट फिर्ता हुनेहरुलाई वितरण गरिने अनुदान वितरण सम्बन्धी कार्यविधि, २०७८, कर्मचारी सेवा सुविधा मापदण्ड, २०७८, नगरपालिकाबाट पुरस्कृत गर्ने सम्बन्धी कार्यविधि, २०७८ पारित गरेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
साथै फोहोरमैला व्यवस्थापन लगायत विभिन्न विषयमा प्रत्येक वडा समितिको आयोजनामा टोल विकास संस्था र अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिहरु विच अन्तरक्रिया कार्यक्रम १ महिना भित्र सम्पन्न गर्ने निर्णय नगरपालिकाले गरेको छ ।
यसैगरी जथाभावि कुखुरा, अण्डा ओसारपोसार कार्यले वर्ड फ्लु आउन सक्ने हुदाँ त्यस्को निगरानी राख्न र समस्या देखिएमा तत्काल सूचना दिन सम्बन्धीत सबैमा अनुरोध गर्ने निर्णय गरेको छ ।