
काठमाडौं । भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । बुधबार मुम्बईको अस्पतालमा उनको निधन भएको हो ।
उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले शोक व्यक्त गरेका छन् ।
मंगलबार राती ११ बजे ६९ वर्षको उमेरमा निधन भएको छ । उनले मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा अन्तिम सास फेरे । साङ्गीतिक उद्योगमा बप्पी लहरीलाई डिस्को किङ्ग भनिन्थ्यो । उनको वास्तविक नाम अलोकेश लाहिडी थियो । बप्पी लहरी आफ्नो सङ्गीतका साथै अत्यधिक सुन लगाउने भएका कारण पनि चर्चित थिए ।
बप्पी यो क्षेत्रमा आफ्नो भिन्न आवाज र सङ्गीतका लागि चर्चित थिए । उनले सन् १९७५ मा रिलिज भएको फिल्म ‘जख्मी’ बाट पहिचान पाएका थिए । पप म्युजिकलाई भारत ल्याउने श्रेय बप्पी लहरीलाई नै जान्छ । बप्पी लहरीको जन्म २७ नोभेम्बर सन् १९५२ मा पश्चिम बंगालको शहर जलपाईगुडीमा भएको थियो ।