images
images
images

कोरोना महामारीमा राष्ट्रिय परिचयपत्र बनाउन तनहुँ प्रशासनमा सेवाग्राहीको भीड

images

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको छ । सरकारले राहदानी लिनका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरेसँगै सेवाग्राहीको भीड बढेको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा पछिल्लो समय राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले बताए ।

सरकारले गत वर्षबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेसँगै तनहुँमा पनि विवरण संकलन सुरु भएको थियो । राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्ने तथा फोटो खिचाउने काम सुरु भए पनि वितरण भने अहिलेसम्म हुन सकेको छैन ।

परिचयपत्र छपाइमा ढिलाइ हुँदा हालसम्म विवरण संकलन गरिएका कसैको पनि परिचय पत्र नआएको प्रशासनले जनाएको छ ।

दैनिक सयौं बढी सेवाग्राही राष्ट्रिय परिचय पत्र लिन आउने गरेको सहायक प्रजिअ गैह्रेको भनाइ छ । यसअघि नागरिकता लिन आउने सेवाग्राहीलाई एकैसाथ राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्ने गरिए पनि पछिल्लो समय परिचय पत्रकै लागि मात्र आउने सेवाग्राही पनि बढेका छन् ।

सरकारले विद्युतीय राहदानी वितरण सुरु गरेसँगै त्यसका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य भएपछि जिल्लामा परिचय पत्र बनाउने सेवाग्राही बढेको हो ।

यसअघि एउटा मात्रै विवरण दर्ता केन्द्र सुरु गरेको जिल्ला प्रशासन कार्यालय तनहुँले अहिले सेवाग्राहीको चाप बढेपछि दुईवटा स्टेसनमार्फत सेवा दिएको जनाएको छ ।

तत्कालका लागि परिचय पत्र नआए पनि विवरण भरेर प्रविष्ट गरिसकेपछि सेवाग्राहीले राष्ट्रिय परिचय पत्र नम्बर भने पाउनसक्ने छन् ।

प्राप्त परिचय पत्र नम्बरको आधारमा राहदानी भर्न सकिने भएकाले पनि राहदानी लिने तयारी गरेका सेवाग्राही राष्ट्रिय परिचय पत्र लिनका लागि प्रशासन कार्यालय आउन थालेका हुन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS