images
images

अमेरिकी हमलाले इरानको आणविक कार्यक्रम कति बिथोलियो ?

images

१२ असार, काठमाडौं । अमेरिकाले गरेको आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्यो ? यसबारे फरक-फरक दाबी गर्ने गरिएको छ ।

अमेरिकाको रक्षा मन्त्रालयको मुख्यालय पेन्टागनको गोप्य रिपोर्टमा इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको उल्लेख रहेको खबर बाहिरियो ।

इजरायल-इरान युद्ध जारी रहँदा अमेरिकाले शनिबार इरानका फोर्दो, नताञ्ज र इस्फाहान परमाणु केन्द्रमा बंकर बस्टर बम प्रहार गरेको थियो । जीबीयू–५७ नामक ‘बंकर–बस्टर’ बमलाई भूमिगत संरचना नष्ट गर्न प्रभावकारी मानिन्छ । जसले ६१ मिटर तलसम्म घुसेर विष्फोट गराउन सक्छ ।

सीएनएनले पेन्टागनको रक्षा गुप्तचर एजेन्सी (डीआईए) स्रोतहरूलाई उद्धृत गर्दै बम आक्रमणले इरानको युरेनियम भण्डार ध्वस्त पार्न नसेकेको लेखेको छ । यद्यपि ट्रम्पले त यसलाई ‘फेक न्यूज’ नै भनिदिए ।

ट्रम्पको बदलिएको बोली

ट्रम्पले अमेरिकाले गरेको आक्रमणबाट इरानको परमाणु कार्यक्रम दशकौँ पछाडि धकेलिएको दाबी गर्दै अघिल्ला दिनका दाबीहरूबाट पछि हटेको संकेत गरेका छन् ।

अमेरिकी आक्रमणबाट इरानको आणविक कार्यक्रम कति क्षतिग्रस्त भयो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘मलाई लाग्छ, यो दशकौँ पछाडि धकेलिएको छ। उनीहरूले यो पीडा सहनु पर्‍यो, र निकै कठिन समयबाट गुज्रिए । अब उनीहरू समृद्धि चाहन्छन् । त्यो अन्तिम कुरा हो जुन उनीहरूले खोजिरहेका छन्। त्यो आक्रमणले युद्ध नै टुंग्याइदिएको छ।’

ट्रम्पले नेदरल्याण्डको नाटो समिटमा पत्रकारसँग भने, ‘इरानी परमाणु केन्द्रहरूमा अमेरिकी आक्रमणपछि १२ दिनसम्म चलेको इरान–इजरायल युद्ध रोकिएको हो।’

उनले थपे, ‘यी १२ दिन इरानका लागि नर्क समान भए, जसका कारण उनीहरूले परमाणु हतियार बनाउने चाहना नै त्याग्नुपर्‍यो। तर यदि उनीहरूले फेरि कार्यक्रम सुरू गरे भने हामी फेरि आक्रमण गर्नेछौँ।’

वर्षौं पछाडि धकेलिएको इजरायलको जिकिर

ट्रम्पले दशकौं पछि धकेलिएको दाबी गरिरहँदा इजयरायलले भने इरानको आणविक कार्यक्रम वर्षौँ पछाडि धकेलिएको बताएको छ ।

इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जमीरका अनुसार १२ दिनसम्म चलेको युद्धमा इजरायली डिफेन्स फोर्स  (आईडीएफ)  ले आफ्ना सबै लक्ष्यहरू प्राप्त गरेको छ ।

उनले भने, ‘गुप्तचर निकायको मूल्यांकन अनुसार, इरानको आणविक कार्यक्रमलाई केवल स्थानीय तहमा मात्र होइन, पूरै प्रणालीमा गम्भीर क्षति पुगेको छ। यो अभियानले इरानको न्यूक्लियर प्रोग्रामलाई वर्षौँ पछाडि धकेलेको छ।’

जमीरले थप भने, ‘हामी इरानलाई जनसंहारक हतियार उत्पादन गर्न दिन्नौं।’

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले बुधबार भने, ‘इरानविरुद्ध इजरायलकै इतिहासको सबैभन्दा ठूलो विजय प्राप्त भएको छ, जुन पुस्तौंपछि पनि सम्झिनेछ।’

तर इरानी विदेश मन्त्री अब्बास अराघचीले भने, ‘हामी हाम्रो आणविक कार्यक्रम बन्द गर्नेछैनौं। यो प्रविधि हासिल गर्न हाम्रा वैज्ञानिकले बलिदान दिएका छन्।’

युद्धविरामपछि तेहरानमा विजय उत्सव कार्यक्रम समेत आयोजना गरिएको थियो।

आईएईएले भन्यो-केही महिना पछाडि धेकेलियो

विभिन्न देशहरूको परमाणु कार्यक्रम निगरानी गर्ने संयुक्त राष्ट्र संघीय संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)  का प्रमुख राफेल ग्रोसीले बुधबार भियनामा अष्ट्रियन क्याबिनेट बैठकमा इजरायली र अमेरिकी आक्रमणहरूले इरानको परमाणु कार्यक्रमलाई केवल केही महिनाका लागि मात्र पछाडि धकेलेको बताएका छन् ।

उनले भने, ‘आईएईएको अहिलेको प्रमुख प्राथमिकता भनेको इरानका परमाणु स्थलगत केन्द्रहरूमा पुगेर त्यसमा भएको क्षतिको मूल्यांकन गर्नु हो ।’

यसैबीच, इरानमा अमेरिकी हमलाको जवाफमा रूसले अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) लाई दिंदै आएको सहयोग रोकेको छ ।

रूसले अमेरिकी आक्रमणले आईएईएको साखमा ठूलो नोक्सान पुगेको टिप्पणी गरेको छ । रूसले इरानमा अमेरिकी हमलाको निन्दा पनि गरेको थियो ।

उता, चीनले पनि अमेरिकाले इरानका परमाणु स्थलगत केन्द्रहरूमा गरेको आक्रमणलाई संयुक्त राष्ट्रसंघको चार्टर र अन्तर्राष्ट्रिय कानुनका उद्देश्यहरूको गम्भीर उल्लंघन भनेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन्, ‘अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको निगरानीका बाबजुद परमाणु सुविधाहरूमा गरिएका आक्रमणहरू हुन्।’

उनले भनेका छन्, ‘यस्ता आक्रमणले आणविक चुहावट वा विपद् निम्त्याउन सक्छन्। अन्तर्राष्ट्रिय समुदायले यसको विरोध गर्नु आवश्यक छ ।’-अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS