images
images
images

साउदी अरेबियाले ल्याएको श्रम कानुनबारे श्रममन्त्री श्रेष्ठको चासो

images

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका राजदुत मुसैद वीन सुलेमन अल मार्वानीले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा सोमबार भएको भेटवार्तामा उनिहरूबीच नेपाल–साउदी अरेबियाबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको थियो । सो अवसरमा श्रममन्त्री श्रेष्ठले साउदी अरेबियाले हालै ल्याएको श्रम कानुनबारे चासो राख्दै नयाँ श्रम कानुनबाट नेपालीहरु लाभान्वित हुने विश्वास व्यक्त गरेका थिए ।

मन्त्री श्रेष्ठले साउदी अरेबिया सरकारसँग प्रकृयामा रहेको द्विपक्षीय श्रम सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउन समन्वयका लागि समेत राजदुत अल मार्वानीसँग आग्रह गरेका थिए । मन्त्री श्रेष्ठले नेपालमा पनि सिप परिक्षण परियोजना कार्यन्वयनका लागि राजदुतमार्फत साउदी अरेबिया सरकारसमक्ष आग्रह गरे ।

नेपालबाट वैदेशिक रोजगारीमा गएकामध्ये २० प्रतिशत जनशक्ती साउदी अरेबियामा रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्रमा साउदी अरेविया सरकारले नेपाललाई प्रदान गरेको अवसरको लागि धन्यवाद दिए ।

साउदी अरेवियाबाट आर्जन गरेको आर्थिक, सामाजिक र प्राविधिक पुँजीबाट धेरै नेपाली लाभान्वित भएको भन्दै मन्त्री श्रेष्ठले निर्माण, अतिथि सेवा र अन्य सेवाबाहेक प्रविधिमा आधारित उद्योगमा पनि नेपाली श्रमिकहरु काम गर्न इच्छुक रहेको बताए ।

राजदुत अल मार्वानीले द्विपक्षीय श्रम सम्झौता छिटो सम्पन्न गर्न साउदी अरेबिया तयार रहेको बताए । साउदी अरेबियाले हालै ल्याएको श्रम कानुनले श्रमिकहरुको समस्या सम्वोधन गर्ने उनले बताए । नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मार्च १५ मा कुटनीतिक सम्वन्ध स्थापना भएको हो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS