images
images

आँबुखैरेनीमा हलगोरु पाल्ने किसानलाई नगद अनुदान

images

आँबुखैरेनी , २८ असोज ।
आँबुखैरेनी गाउँपालिकाले परम्परागत कृषि प्रणालीको संरक्षण र हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदान वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार वडा नं.१ का ४६ जना हलगोरु पालक किसानलाई जनही सात हजार रुपैयाँका दरले अनुदान वितरण गरेको हो ।
गाउँपालिकाले बुधबार आयोजना गरेको कार्यक्रममा किसानलाई हलगोरु पालन पोषण अनुदान वितरण गरिएको जनाएको छ । यस कार्यक्रममार्फत किसानलाई आर्थिक सहयोग गर्नुका साथै ग्रामीण कृषि जीवनशैलीको अभिन्न अंगका रूपमा रहेको हलगोरु पाल्ने परम्पराको संरक्षण गर्न खोजिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।
आधुनिक कृषि उपकरणको प्रयोग बढ्दै जाँदा परम्परागत हलो र गोरुमा आधारित खेती प्रणाली क्रमशः घट्दै गएको अवस्थामा हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको वडा नं.१ का अध्यक्ष प्रेमबहादुर गुरुङले बताए । उनका अनुसार यसले परम्परागत कृषि संस्कृतिको निरन्तरता र किसानको मनोबल बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउनु आवश्यक भए पनि परम्परागत कृषि प्रणाली र त्यससँग जोडिएको मौलिक संस्कृतिको संरक्षण पनि उत्तिकै महत्त्वपूर्ण रहेको अध्यक्ष गुरुङले बताए ।
विशेषगरी साना किसानका लागि हलगोरु खेतीपातीको साधन मात्र नभई ग्रामीण जीवनशैली र कृषि परम्पराको पहिचानसमेत हो ।
यस्तो अवस्थामा हलगोरु पालक किसानलाई अनुदान उपलब्ध गराउने गाउँपालिकाको कार्यक्रमले परम्परागत कृषि प्रणाली जोगाउन सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।
आँबुखैरेनी गाउँपालिकाले हलगोरु पालनपोषण अनुदानसँगै कृषि तथा पशुपालन क्षेत्रलाई उत्पादनमुखी र व्यावसायिक बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । किसानलाई व्यावसायिक फूलखेतीमा प्रोत्साहन गर्ने, पशुधनको बिमा गर्ने तथा स्थानीय कृषि उपजको बजारीकरणका लागि हाटबजार सञ्चालन गर्ने कार्यक्रम गाउँपालिकाका प्राथमिकतामा छन् ।


कृषि उत्पादन बढाउनु मात्र पर्याप्त नहुने भएकाले उत्पादित वस्तुले उचित मूल्य पाउने वातावरण निर्माण गर्न गाउँपालिकाले बजारीकरणमा समेत जोड दिएको छ । किसानले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य कृषि उपज बजारसम्म पु¥याउँदा लाग्ने लागत घटाउने र उपभोक्ताले पनि उचित मूल्यमा ताजा उत्पादन पाउने अवस्था बनाउन स्थानीय हाटबजार महत्त्वपूर्ण माध्यम बनेको छ ।
स्थानीय उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष कारोबारको अवसर बढाए र सके बिचौलियाको प्रभाव घटाउन तथा किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्न गाउँपालिकाले सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष चुमानले बताए । कृषि हाटबजारले किसानलाई बजार खोज्दै टाढा जानुपर्ने बाध्यता कम गर्नुका साथै स्थानीय उत्पादनको पहिचान र खपत बढाउन पनि मद्दत गरेको गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले बताइन
यसले गाउँमै उत्पादन, बिक्री र आम्दानीको चक्र विकास गर्न टेवा मिलेको उपाध्यक्ष अर्यालले बताइन् ।
त्यस्तै, पशुधनको बिमा कार्यक्रमले पशुपालक किसानलाई सम्भावित आर्थिक जोखिमबाट जोगाउन सहयोग पु¥याउँछ ।
रोग, दुर्घटना वा अन्य कारणले पशुधनमा क्षति पुगेमा किसानले ठूलो आर्थिक भार बेहोर्नुपर्ने अवस्था आउन सक्छ । यस्तो जोखिम न्यूनीकरणका लागि बिमा कार्यक्रम प्रभावकारी हुन सक्छ । पशुपालनमा किसानको लगानी सुरक्षित बनाउन सके व्यावसायिक पशुपालनतर्फ आकर्षण बढाउन पनि सहयोग पुगेको
व्यावसायिक फूलखेती प्रवद्र्धनले पनि किसानलाई परम्परागत खाद्यबालीमा मात्र निर्भर नभई आम्दानीका वैकल्पिक स्रोत खोज्न प्रेरित गर्न सक्छ । स्थानीय बजार, चाडपर्व तथा विभिन्न समारोहमा फूलको माग हुने भएकाले उत्पादन र बजारको उचित व्यवस्थापन हुँद्या किसानका लागि आयआर्जनको बढाएको छ । गाउँपालिकाले कृषि पेसालाई सम्मानजनक र आयआर्जनको भरपर्दो माध्यम बनाउने लक्ष्यसहित स्थानीय उत्पादनको वृद्धि, किसानको लागत न्यूनीकरण र बजारसम्मको पहुँच विस्तारमा जोड दिएको जनाएको छ ।
कृषि क्षेत्रलाई उत्पादनसँग मात्र सीमित नराखी रोजगारी, स्थानीय अर्थतन्त्र र ग्रामीण जीवनशैलीसँग जोडेर विकास गर्ने प्रयास गरिएको गाउँपालिकाको भनाइ छ ।
हलगोरु पाल्ने किसानको सम्मानदेखि पशुधन बिमा, व्यावसायिक फूलखेती र कृषि हाटबजार सञ्चालनसम्मका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाएर आँबुखैरेनी गाउँपालिकाको कृषि क्षेत्रले थप गति लिन थलोको स्थानीय कृषक बद्री पौडेलले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS