images
images

दमौलीमा ग्यास डिलरको अनुगमन, कृत्रिम अभाव हुन नदिन प्रशासनको कडा निर्देशन

images

दमौली, १२ साउन ।बजारमा खाना पकाउने एलपी ग्यास सहज रूपमा नपाइएको भन्दै उपभोक्ताबाट लगातार गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले दमौलीका ग्यास डिलर तथा सप्लायर्सहरूको अनुगमन गरेको छ। बजारमा कृत्रिम अभाव सिर्जना भएको आशंकापछि मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीको नेतृत्वमा संयुक्त अनुगमन गरिएको हो।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ तथा अन्य सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित टोलीले दमौली बजारका विभिन्न ग्यास डिलर तथा सप्लायर्सको स्थलगत निरीक्षण गर्दै मौज्दात, उद्योगबाट प्राप्त आपूर्ति र वितरण अवस्थाबारे जानकारी लिएको थियो।

अनुगमनका क्रममा अधिकांश डिलरमा उद्योगबाट नियमित रूपमा एलपी ग्यासका सिलिन्डर आइरहेको देखिए पनि उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको अवस्था भेटिएको टोलीले जनाएको छ। केही व्यवसायीले पछिल्लो समय माग बढेकाले वितरण व्यवस्थापनमा चुनौती देखिएको बताएका थिए।टोलीले प्रत्येक डिलरसँग मौज्दात सिलिन्डरको संख्या, उद्योगबाट प्राप्त आपूर्ति, दैनिक बिक्री वितरणको विवरण तथा अभिलेख परीक्षण गरेको थियो। साथै ग्यास वितरणलाई पारदर्शी, व्यवस्थित र उपभोक्तामैत्री बनाउन आवश्यक निर्देशन समेत दिएको छ ।

अनुगमनपछि सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीले बजारमा कुनै पनि बहानामा कृत्रिम अभाव सिर्जना गर्न नपाइने स्पष्ट पारे।ूउद्योगबाट नियमित रूपमा ग्यास आइरहेको अवस्थामा उपभोक्ताले सहज रूपमा ग्यास नपाउने अवस्था हुनु स्वाभाविक होइन। ग्यासको आयात, मौज्दात र वितरणको स्पष्ट अभिलेख राखेर पारदर्शी रूपमा बिक्री गर्न सबै व्यवसायीलाई निर्देशन दिएका छौं, रेग्मीले भने ।

उनले उपभोक्ताको अधिकारमाथि असर पर्ने गरी ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा वितरणमा अनियमितता गर्ने कार्य भेटिए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिए।‘बजारमा कृत्रिम अभाव सिर्जना भएको पुष्टि भएमा दोषी व्यवसायीमाथि कानुनी कारबाही गर्न प्रशासन पछि हट्दैन ।

उपभोक्ताले पनि यस्ता गतिविधिबारे जानकारी पाए तुरुन्त प्रशासनलाई सूचित गर्नुपर्छ’ उनले थपे।

अनुगमन टोलीले ग्यास डिलर तथा सप्लायर्सलाई उद्योगबाट प्राप्त ग्यास समयमै उपभोक्तासम्म पु¥याउन, मौज्दात लुकाएर अभाव देखाउने प्रवृत्ति अन्त्य गर्न तथा वितरणको अभिलेख नियमित रूपमा अद्यावधिक राख्न निर्देशन दिएको छ।

पछिल्ला केही दिनयता दमौली बजारमा एलपी ग्यास पाउन कठिन भएको भन्दै उपभोक्ताले गुनासो गर्दै आएका थिए ।

यसैबीच कतिपय उपभोक्ताले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको आशंका व्यक्त गरेपछि जिल्ला प्रशासन कार्यालयले स्थलगत अनुगमनलाई तीव्र बनाएको हो।

प्रशासनले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्ने र आवश्यक वस्तुको आपूर्ति तथा वितरणमा कुनै प्रकारको अनियमितता हुन नदिने जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS