images
images

गाडी कुदाउँदा कुदाउँदै चालकको निधन, के कारण हुन्छ यस्तो

images

मुटुलाई रगत पुर्‍याउने कोरोनरी धमनीमा वर्षौंदेखि बोसो र कोलेस्टेरोल जम्मा भएर ‘प्लाक’ बन्छ । कुनै बेला त्यो प्लाक फुटेपछि त्यहाँ रगत जम्छ र रक्तनली बन्द हुन्छ ।

गाडी कुदाउँदा कुदाउँदै चालकको निधन, के कारण हुन्छ यस्तो ?
बागमती प्रदेश ०३–००१ ज ११२४ नम्बरको विद्युतीय माइक्रोबस नारायणगढबाट वीरगञ्जतर्फ आफ्नो नियमित यात्रामा थियो । माइक्रोमा १४ जना यात्रु सवार थिए । उनीहरूका लागि त्यो दिन अरू दिनजस्तै सामान्य थियो । कोही मोबाइलमा व्यस्त थिए । कोही झ्यालबाहिर हेर्दै थिए । कोही गन्तव्यमा पुग्ने हतारमा थिए । .

त्यस माइक्रोमा स्टेयरिङ सम्हालिरहेका थिए, ५५ वर्षीय चन्द्रबहादुर बुढाथोकी । यात्राको बीचमै उनलाई छाती भारी भएको थियो कि, सास फेर्न गाह्रो भएको थियो कि, वा मुटुको धड्कन अनियन्त्रित भएको थियो, त्यो अब उनी आफैंले कहिल्यै भन्न सक्ने छैनन् ।

तर एउटा कुरा भने त्यहाँ उपस्थित धेरैले याद गरे, उनले अन्तिम क्षणसम्म स्टेयरिङ छाडेनन् ।

सामुन्ने यात्रुहरूको जीवन थियो । उनीहरूले आफ्नै शरीरको पीडाभन्दा यात्रुको सुरक्षालाई प्राथमिकता दिए । कुनै हतार वा आतंक सिर्जना नगरी माइक्रोलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याए । गाडी रोके । त्यसपछि मात्रै उनको शरीरले साथ छाड्यो ।

यात्रु र स्थानीयले अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरिदिए ।

प्रारम्भिक जानकारीअनुसार उनको मृत्युको कारण हृदयघात भनिएको छ । तर उनले अन्तिम क्षणसम्म देखाएको संयमताका कारण माइक्रोमा सवार सबै १४ जना यात्रु भने सकुशल रहे ।

सग्लो मान्छे, हेर्दा स्वस्थ, हिँडडुल गरिरहेको, काम गरिरहेको मानिस केही मिनेटमै जीवन गुमेको घट्ना नौलो भने होइन । यस्ता घटना केवल सडकमा मात्र होइन, कार्यालयमा, घरमा, व्यायामशालामा, विवाह समारोहमा, खेल मैदानमा र कहिलेकाहीँ निद्राकै अवस्थामा पनि भइरहेका छन् ।

अचानक मृत्यु भएका धेरै व्यक्तिका परिवारले लगभग एउटै वाक्य दोहोर्याउँछन, ‘बिहान त हाँसेर घरबाट निस्कनुभएको थियो । कुनै ठूलो रोग नै थिएन । खाना खाएर काममै जानुभएको थियो ।’

हृदयघातले कसरी अचानक मानिसको मृत्यु हुन्छ ?

मृत घोषित भएका चन्द्रबहादुर बुढाथोकीलाई ‘साइलेन्ट हार्ट अट्याक’ भएको हुनसक्ने मुटुरोग विशेषज्ञ डा. अशोक श्रेष्ठ बताउँछन् । उनका अनुसार सबै हृदयघात एउटै प्रकारका हुँदैनन् । कतिपय अवस्थामा बिरामीलाई छाती दुख्ने, पसिना आउने वा सास फेर्न गाह्रो हुने जस्ता स्पष्ट लक्षण देखिन्छन् । तर केही बिरामीमा भने कुनै विशेष संकेत नै नदेखिई मुटुभित्र गम्भीर क्षति भइरहेको हुन्छ ।

यस्तो अवस्थालाई चिकित्सकीय भाषामा ‘साइलेन्ट हार्ट अट्याक’ भनिन्छ ।

‘साइलेन्ट हार्ट अट्याक’ मा बिरामीले सामान्य थकान, पेट फुलेको जस्तो, अपच भएको जस्तो वा छातीमा हल्का असजिलो मात्रै महसुस गर्न सक्छ । त्यसैले धेरैले यसलाई सामान्य समस्या सम्झेर बेवास्ता गर्छन्‘ डा. श्रेष्ठ भन्छन् ।

उनका अनुसार मुटुलाई रगत पुर्‍याउने कोरोनरी धमनीमा वर्षौंदेखि बोसो र कोलेस्टेरोल जम्मा भएर ‘प्लाक’ बन्छ । कुनै बेला त्यो प्लाक फुटेपछि त्यहाँ रगत जम्छ र रक्तनली बन्द हुन्छ । त्यसपछि मुटुको मांसपेशीले अक्सिजन पाउन छाड्छ।

यदि यो प्रक्रिया ठूलो भागमा भयो भने मुटुको पम्प गर्ने क्षमता कमजोर हुँदै जान्छ । त्यसपछि मुटुको धड्कन नियन्त्रण गर्ने विद्युतीय प्रणाली बिग्रन सक्छ । धड्कन अत्यधिक अनियमित हुन्छ वा मुटु नै रोकिन सक्छ । यही अवस्थालाई कार्डियाक अरेस्ट भनिन्छ ।

‘मुटुले रगत पम्प गर्न छाडेपछि मस्तिष्कमा अक्सिजन पुग्दैन । केही सेकेन्डमै बिरामी अचेत हुन्छ । ४ देखि ६ मिनेटभित्र मस्तिष्कमा स्थायी क्षति सुरु हुन्छ । तत्काल उपचार नपाए मृत्यु हुन सक्छ, ‘उनी भन्छन् ।

जो बाहिर देखिँदैन, त्यही सबैभन्दा ठूलो जोखिम

डा. श्रेष्ठका अनुसार साइलेन्ट हार्ट अट्याकको सबैभन्दा ठूलो चुनौती नै यसले बिरामीलाई समयमै सचेत हुन नदिनु हो ।

कतिपय व्यक्ति नियमित कार्यालय जान्छन्, गाडी चलाउँछन्, व्यायाम गर्छन् र आफूलाई पूर्ण स्वस्थ ठानिरहेका हुन्छन् । तर उनीहरूको मुटुको रक्तनलीमा भने वर्षौंदेखि रोग विकसित भइरहेको हुन सक्छ ।

धूम्रपान, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, मोटोपना, मानसिक तनाव, अनियमित जीवनशैली र बढ्दो उमेरले यस्तो जोखिम अझ बढाउने उनी बताउँछन् ।

‘यी जोखिम कारकहरू एकै व्यक्तिमा जम्मा भए भने कुनै पनि बेला प्लाक फुट्न सक्छ। त्यसपछि केही मिनेटभित्रै सामान्य अवस्थामा रहेको मानिस जीवनमरणको अवस्थामा पुग्न सक्छ, ‘डा. श्रेष्ठ भन्छन् ।

अचानक मृत्यु हुने कारण हृदयघात मात्रै हुँदैन

विशेषज्ञहरूका अनुसार कतिपयमा कार्डियाक अरेस्ट, मस्तिष्कघात वा सबएराक्नोइड हेमरेज जस्ता गम्भीर अवस्थामा पनि अचानक मृत्यु हुनसक्छ । धेरैपटक यस्ता समस्या शरीरभित्र वर्षौंसम्म विकास भइरहेका हुन्छन्, तर बाहिर कुनै स्पष्ट संकेत देखिँदैन ।

‘अचानक अचेत हुनु भनेको हृदयघात मात्र होइन । कतिपय अवस्थामा मस्तिष्कघात (स्ट्रोक) पनि यसको कारण हुन सक्छ, ‘स्नायुरोग विशेषज्ञ डा. राजीव झा भन्छन् ।

उनका अनुसार मस्तिष्कमा रगत पुर्‍याउने रक्तनली बन्द हुँदा वा फुट्दा स्ट्रोक हुन्छ। यदि मस्तिष्कको जीवनका लागि अत्यन्त महत्त्वपूर्ण भाग प्रभावित भयो भने बिरामी केही मिनेटमै अचेत हुन सक्छ ।

स्ट्रोक भएका सबै बिरामी अचानक मृत्युको मुखमा पुग्दैनन् । तर ठूलो रक्तश्राव, मस्तिष्कमा अत्यधिक सुन्निने अवस्था वा मस्तिष्कको ब्रेनस्टेम प्रभावित भएमा अवस्था अत्यन्त गम्भीर बन्न सक्छ ।

‘कतिपय बिरामीमा बोल्न नसक्ने, एउटा हातखुट्टा नचल्ने, अनुहार बांगिने वा सन्तुलन गुम्ने जस्ता लक्षण देखिन्छन् । तर गम्भीर स्ट्रोकमा बिरामी एक्कासि बेहोस पनि हुन सक्छ । त्यसैले, यस्तो अवस्थालाई सामान्य कमजोरी भनेर बस्न मिल्दैन, ‘उनी भन्छन् ।

सबएराक्नोइड हेमरेज

केही नभएको व्यक्ति अचानक मृत्यु हुने मुख्य कारणहरू मध्ये मस्तिष्कको यो सबएराक्नोइड हेमरेज पनि रहेको डा.झा बताउँछन् । सयौं एन्युरिजमका केसहरूको सफल उपचार गरिसकेका डा. झाका अनुसार यो प्रायः दिमागको रक्तनलीमा रहेको एन्युरिजम अर्थात् बेलुनजस्तो फुलेको कमजोर भाग फुटेपछि हुन्छ ।

धेरैजसो व्यक्तिमा यस्तो एन्युरिजम जन्मजात वा लामो समयदेखि रहेको हुन सक्छ, तर कुनै लक्षण नदेखिएकाले उनीहरू सामान्य जीवन बिताइरहेका हुन्छन् । ‘एन्युरिजम फुट्नेबित्तिकै रगत दिमाग वरपरको सबएराक्नोइड स्पेसमा फैलिन्छ । यसले केही सेकेन्डमै दिमागभित्रको दबाब अत्यधिक बढाउँछ र बिरामीलाई एकाएक असह्य टाउको दुख्ने, अचेत हुने वा तत्काल मृत्यु हुने अवस्था आउन सक्छ, ‘डा. झा भन्छन् । उनका अनुसार समयमै विशेषज्ञ अस्पताल पुग्न नसक्दा धेरै बिरामीको बाटोमै वा घरमै ज्यान जाने गर्छ ।

पहिलो केही मिनेटले नै बचाउन सक्छ ज्यान

अचानक मुटु रोकिनु वा व्यक्ति अचेत हुनु भनेको उपचारको अवसर सकिएको भन्ने होइन । बरु चिकित्सकहरूका अनुसार त्यस्तो अवस्थामा पहिलो केही मिनेट नै बिरामीको जीवन र मृत्युबीचको सबैभन्दा महत्वपूर्ण समय हो ।

मुटु रोग विशेषज्ञ डा. माधव विष्टका अनुसार कार्डियाक अरेस्ट भएपछि मुटुले रगत पम्प गर्न छाड्छ । त्यसपछि मस्तिष्कमा अक्सिजन पुग्न बन्द हुन्छ । यदि चारदेखि छ मिनेटभित्र कुनै उपचार सुरु भएन भने मस्तिष्कमा स्थायी क्षति सुरु हुन सक्छ ।

उनी भन्छन्, ‘यस्तो अवस्थामा एम्बुलेन्स कुरेर मात्र बस्नु हुँदैन । बिरामीले सास लिइरहेको छैन वा मुटु चलेको जस्तो देखिँदैन भने तुरुन्त कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) सुरु गर्नुपर्छ । समयमै गरिएको सीपीआरले मुटु र मस्तिष्कमा केही मात्रामा भए पनि रगतको प्रवाह कायम राख्छ, जसले बिरामी बाँच्ने सम्भावना उल्लेखनीय रूपमा बढाउँछ ।’

सीपीआर कसरी दिने ?

१. सास फेरेको छ कि छैन हेरेर सीपीआर सुरु गर्ने ।

२. बिरामीलाई कडा र समथर सतहमा सुताएर छातीको बीच भागमा हात राख्ने । एउटा हातको हत्केला अर्को हातमाथि राखेर कुहिनो सीधा बनाउने।

३. छातीलाई बलियो र छिटो थिच्ने । प्रति मिनेट १००–१२० पटकको गतिमा करिब ५–६ सेन्टिमिटर गहिराइसम्म प्रत्येक थिचाइपछि छाती पूर्ण रूपमा फर्किन दिने ।

४. प्रशिक्षित हुनुहुन्छ भने ३० पटक छाती थिचेपछि २ पटक कृत्रिम श्वास ( दिने । यदि प्रशिक्षण छैन भने निरन्तर छाती थिचिरहनु पनि प्रभावकारी हुन्छ ।

५. यदि नजिकै अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर (ब्भ्म्) उपलब्ध छ भने तुरुन्त प्रयोग गर्ने । उपकरणले दिने निर्देशनअनुसार प्याड टाँसेर आवश्यक परे विद्युतीय झट्का दिने ।

६. एम्बुलेन्स नआएसम्म, बिरामीमा सास वा चेतना नफर्केसम्म, वा स्वास्थ्यकर्मीले जिम्मा नलिएसम्म सीपीआर जारी राख्ने । लगातार गरिएको सीपीआरले मस्तिष्क र मुटुमा रगतको प्रवाह कायम राख्न मद्दत गर्छ र बिरामी बाँच्ने सम्भावना बढाउँछ ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS