१५ असार, काठमाडौं । मेटा कम्पनीले आफ्ना कर्मचारीहरूलाई एआई टुलहरूबाट विस्थापित गर्ने योजनालाई तीव्रता दिएको छ। यसअन्तर्गत कम्पनीले यो वर्षको अन्त्यसम्ममा फेसबुक र इन्स्टाग्रामलगायतका प्लेटफर्ममा आउने धेरैजसो कन्टेन्ट र विज्ञापनहरूको समीक्षा गर्न ‘लार्ज ल्याङ्ग्वेज मोडेल’ (एलएलएम) को प्रयोग गर्ने तयारी गरेको छ।
फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार मेटाले ‘ह्युमन मोडरेटर’ को सट्टा एआई मोडेलहरू लागु गर्ने आफ्नो योजनालाई अगाडि बढाएको हो। कम्पनीले अहिले नै ५० प्रतिशत कार्यहरू एआई टुलहरूबाट भइरहेको र सन् २०२६ को अन्त्यसम्ममा त्यसलाई बढाएर ९० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ। यसको अर्थ- अब फेसबुक र इन्स्टाग्राममा पोस्ट तथा विज्ञापनसँग सम्बन्धित लगभग सबै निर्णयहरू एआईले नै गर्नेछ।
यो निर्णय हालै इन्स्टाग्राममा भएको एउटा प्राविधिक कमजोरीको बिचमा आएको हो। केही समयअघि एउटा कमजोरीको फाइदा उठाउँदै ह्याकरहरूले करिब २० हजार इन्स्टाग्राम अकाउन्टहरूमा अनधिकृत पहुँच बनाएका थिए। उनीहरूले मेटाको ‘एआई सपोर्ट बोट’ लाई झुक्याएर अरूको अकाउन्ट आफ्नो नियन्त्रणमा लिएका थिए।
यसका लागि कुनै कोडिङ वा प्राविधिक ज्ञानको आवश्यकता परेको थिएन। अकाउन्ट चोरहरूले केवल मेटाको एआई सपोर्ट सिस्टमलाई ‘अकाउन्ट भेरिफिकेसन कोड’ अर्को इमेल ठेगानामा पठाइदिन निर्देशन दिएका थिए।
मेटाले यो कमजोरीलाई अहिले सुधार गरिसकेको बताएको छ। तर यस घटनाले एआई टुलहरूको एउटा ठुलो संवेदनशीलतालाई स्पष्ट पारेको छ। मानिसहरूले एआईसँग सामान्य भाषामा कुराकानी गर्ने भएकाले र प्रश्नहरू अनगिन्ती तरिकाले सोध्न सक्ने भएकाले यस्ता कमजोरीहरू सधैँ रहिरहने डर हुन्छ।
एआई मोडेलहरूलाई कुनै विशेष प्रकारको प्रश्न सोध्न प्रतिबन्ध लगाइए पनि फरक तरिकाले सोध्दा तिनले काम गरिदिने समस्या अन्य मोडेलहरूमा पनि देखिएको छ। त्यसैले मेटाले जति धेरै संवेदनशील कामहरू एआई एजेन्टलाई सुम्पिन्छ, प्रयोगकर्ताहरूले तिनलाई झुक्याएर अकाउन्टको पहुँच लिने जोखिम त्यति नै बढ्छ।
तर पनि मेटाले आफ्ना एआई टुलहरूलाई यस्ता कामहरू दिनु आवश्यक ठानेको छ। कम्पनीले एआई विकासमा अर्बौँ डलर लगानी गरिरहेको छ। उसले भविष्यमा यो प्रविधिलाई अन्य कम्पनीहरूलाई बेचेर उनीहरूको कर्मचारी खर्च घटाउन मद्दत गर्ने व्यावसायिक लक्ष्य राखेको छ।
यदि मेटाले आफ्नै व्यवसायमा यसको सफल प्रयोग देखाउन सकेन भने यसको ‘एआई प्रोजेक्ट’ को भविष्यको कमाइमा असर पर्न सक्छ। त्यसैले मेटा आफ्ना एआई सिस्टमको व्यावहारिक महत्त्व देखाउनका लागि कर्मचारी कटौती गर्दै मानिसको ठाउँमा एआई राख्न उत्सुक देखिएको छ। तर तीव्र गतिमा भइरहेको यो परिवर्तनले सुरक्षामा थप चुनौतीहरू निम्त्याउन सक्ने चिन्ता पनि बढेको छ।अनलाइनखबर















