दमौली,तनहुँ।मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँका डिभिजनल वन अधिकृत मनोज रानाभाटले जनचेतना अभिवृद्धि, सही र तथ्यपरक सूचना प्रवाह तथा समुदाय र सरोकारवालाबीच समन्वयकारी पुलको भूमिका निर्वाह गर्न सञ्चारकर्मीको योगदान महत्वपूर्ण हुने बताएका छन् ।
बिहीबार आयोजित कार्यक्रममा उनले संरक्षण शिक्षा प्रवर्द्धन, जिम्मेवार सञ्चार तथा संकट व्यवस्थापन, अनुसन्धान तथा खोजमूलक पत्रकारिता र संरक्षण अभियानमा सञ्चारमाध्यमको सक्रिय सहभागिताले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा टेवा पुग्ने उल्लेख गरे ।
चितुवाको आक्रमणबाट बच्न घर वरपरका झाडी सफा राख्ने, नियमित सरसफाइ गर्ने, रातिको समयमा पर्याप्त बत्ती बाल्ने तथा जंगल नजिक रहेका बस्तीमा विशेष सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिए। जंगलको छेउछाउमा रहेका घरधुरीमा चितुवाको आक्रमणका घटना बढी देखिएकाले झाडी व्यवस्थापन आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा रानाभाटले तनहुँमा आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ सम्म वन्यजन्तुको आक्रमणबाट भएको क्षतिको विवरण प्रस्तुत गरेका थिए । जिल्लामा चितुवाको आक्रमणबाट सबैभन्दा बढी मानवीय क्षति भएको छ। उक्त अवधिमा चितुवाको आक्रमणबाट १७ जनाको मृत्यु, २१ जना घाइते तथा ३८ वटा घटना भएका छन्। उनका अनुसार आर्थिक वर्ष २०७६/७७ मा चितुवा आक्रमणका घटना सबैभन्दा बढ़ी भएका थिए भने ६ देखि २० वर्ष उमेर समूहका बालबालिका बढी प्रभावित भएका छन्।
रानाभाटले मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि बासस्थान तथा आहारा व्यवस्थापन, कृषि बाली संरक्षण, मानव व्यवहारमा सुधार तथा वैज्ञानिक व्यवस्थापन रहेको उल्लेख गरे।


सुशील लामगादे बि.क. 











