दमौली, तनहुँ । तनहुँमा राहदानी सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको घरदैलो राहदानी वितरण सेवाबाट हालसम्म ३५० जना सेवाग्राही लाभान्वित भएका छन्।
नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीअन्तर्गत सरकारी सेवा घरमै पुर्याउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभर्नमेन्ट कुरियर सेवा’ सञ्चालन गर्ने कार्यक्रमअनुसार तनहुँमा मिति २०८३ वैशाख ४ गतेदेखि राहदानी घरदैलो वितरण सेवा सुरु गरिएको हो।
जिल्ला प्रशासन कार्यालय तनहुँ र जिल्ला हुलाक कार्यालय तनहुँको सहकार्यमा सञ्चालन गरिएको उक्त सेवाअन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट राहदानी बुझेर हुलाक कार्यालयले सेवाग्राहीको घरमै वा उनीहरूले तोकेको स्थानमा पुगेर राहदानी वितरण गर्दै आएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीका अनुसार २०८३ जेठ २६ गतेसम्म जिल्लाका विभिन्न स्थानीय तहमा गरी ३५० वटा राहदानी घरदैलोमै वितरण गरिएको छ।
वितरण भएका राहदानीमध्ये सबैभन्दा बढी व्यास नगरपालिकामा ९५ वटा रहेका छन्। त्यसैगरी भानु नगरपालिकामा ७३, शुक्लागण्डकी नगरपालिकामा ६८, भिमाद नगरपालिकामा ३८, घिरिङ गाउँपालिकामा २९, आँबुखैरेनी गाउँपालिकामा २६, म्याग्दे गाउँपालिकामा १७ तथा बन्दीपुर गाउँपालिकामा ४ वटा राहदानी घरदैलोमै पुर्याइएको छ।
यस सेवाले राहदानी लिन जिल्ला प्रशासन कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटाएको, समय र खर्चको बचत भएको तथा दुर्गम क्षेत्रका नागरिकलाई विशेष सुविधा पुगेको प्रशासनको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय तनहुँले आगामी दिनमा पनि नागरिकमैत्री सेवालाई थप प्रभावकारी बनाउँदै सरकारी सेवाहरूलाई प्रविधिमैत्री र पहुँचयोग्य बनाउने जनाएको छ।















