images
images

माझफाँट शिवालयमा पुरुषोत्तम महायज्ञको भव्य उद्घाटन, कलश यात्रामा महिलाको उल्लेख्य सहभागिता

images

दमौली, जेठ २४ । व्यास नगरपालिका–९ माझफाँटस्थित शिवालय (माहेन्द्रेश्वर महादेव) मन्दिरमा आयोजित पुरुषोत्तम महायज्ञको उद्घाटन शनिबार भव्य रूपमा सम्पन्न भएको छ। उद्घाटनअघि कलेस्ती बजारदेखि महायज्ञ स्थलसम्म निकालिएको कलश यात्रामा सयौं भक्तजनको सहभागिता रहेको थियो।

विशेषगरी महिलाहरूको उल्लेख्य सहभागिताले कलश यात्रा आकर्षक बनेको थियो। बाजागाजा, भजन–कीर्तन, नाचगान तथा धार्मिक उत्साहका साथ सम्पन्न कलश यात्रापछि महायज्ञको औपचारिक उद्घाटन गरिएको हाे।

माहेन्द्रेश्वर महादेव मन्दिर संरक्षण समितिको आयोजनामा सञ्चालन भएको महायज्ञको प्रमुख कथा वाचन १८ पुराणका सरस प्रवक्ता बालव्यास नारायण न्यौपानेले गर्दैछन्। महायज्ञ जेठ २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने रहेका थिए। कार्यक्रममा व्यास–९ का वडा सदस्य सन्तोष जिसी, व्यास गुफाका संरक्षक शान्ति स्वरूपानन्द दामोदर बाबा, सत्यप्रसाद खनाल, ऋषिराम ढुंगाना सेवक, दयाराज कट्टेल, श्रीभद्र न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

समिति अध्यक्ष बामदेव न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भोटबहादुर थापाले गरेका थिए भने स्वागत मन्तव्य नारायणप्रसाद न्यौपानेले राखेका थिए।

महायज्ञ सफल बनाउन स्थानीयवासी, युवा तथा विभिन्न संघसंस्थाको सक्रिय सहयोग रहेको वडा सदस्य सन्तोष जिसीले बताए ।

धार्मिक अनुष्ठानमार्फत मन्दिर संरक्षण, धार्मिक पर्यटन प्रवर्द्धन तथा पञ्चमन्दिर निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको समितिका अध्यक्ष न्याैपानेले बताए ।

उद्घाटन समारोह र कलश यात्रामा स्थानीय भक्तजनको उत्साहजनक सहभागिताले माझफाँट क्षेत्र नै धार्मिकमय बनेको थियो। आयोजकले महायज्ञ अवधिभर सहभागी भई धार्मिक लाभ लिन सम्पूर्ण श्रद्धालु भक्तजनलाई आग्रह गरेको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS