images
images

शिक्षामन्त्रीको एक महिने समीक्षा : एक महिनामै एसईईको नतिजा आउने, सातै प्रदेशमा ‘अटिजम विद्यालय’ खोल्ने योजना

images

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आफ्नो एक महिने कार्यकालको अनुभव र भावी योजनाहरू सार्वजनिक गरेका छन् ।

मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा एक भिडियो सन्देश जारी गर्दै मन्त्री पोखरेलले नागरिक र मतदाताको ठूलो आशा र भरोसाले आफूलाई काम गर्ने ऊर्जा प्रदान गरेको बताए।

मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा विगतदेखि कायम रहेको ढिलासुस्ती अन्त्य गर्न सुशासन र प्रणालीमा सुधार थालिएको जानकारी दिए । यसअघि एसईईको नतिजा सार्वजनिक हुन झण्डै तीन महिना लाग्ने गरेकोमा अब एक महिनाभित्रै नतिजा आउने गरी काम भइरहेको उनले बताए ।

नेपालको इतिहासमै पहिलोपटक परीक्षा र उत्तरपुस्तिका परीक्षण कार्य एकैदिन सुरु गरिएको उल्लेख गर्दै उनले अबदेखि विद्यार्थीले नतिजाका लागि लामो समय कुर्नु नपर्ने दाबी गरे । त्यस्तै, कक्षा १२ को नतिजा पनि परीक्षा भएको ४५ दिनभित्रै सार्वजनिक गर्ने गृहकार्य भइरहेको उनको भनाइ छ ।

समावेशी शिक्षामा जोड दिँदै मन्त्री पोखरेलले देशका सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय स्थापना गर्ने योजना अघि सारेका छन् । प्रारम्भिक बाल विकास देखि विश्वविद्यालय तहसम्मको भौतिक पूर्वाधार, शिक्षक र विद्यार्थीको अवस्थामा सुधार ल्याउन मन्त्रालयले विज्ञहरूसँग परामर्श गरिरहेको उनले जानकारी दिए

मन्त्री पोखरेलले खेलकुद क्षेत्रलाई विद्यालयको पाठ्यक्रमसँग जोड्दै तल्लो तह (ग्रासरुट) देखि नै खेलाडी उत्पादन र उनीहरूको सम्मानका लागि नीतिगत काम भइरहेको समेत बताए ।

आफ्ना कामहरू सुरुवाती चरणमा केही सुस्त देखिए पनि आफू सस्तो लोकप्रियताभन्दा समस्याको दीर्घकालीन र नीतिगत समाधान खोज्न केन्द्रित रहेको उनले प्रस्ट पारे । नागरिक र मतदाताका सुझाव तथा आलोचनालाई भित्रैदेखि आत्मसात् गरेको बताउँदै मन्त्री पोखरेलले आगामी दिनमा सुशासन र प्रणाली पद्धतिमा रहेर थप प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS