images
images

गाउँमा छैनन् युवा, बाँदरको राज !

  • images
  • ९ बैशाख २०८३, बुधबार ०७:५७
images

बागलुङ  । सुनसान छन् गाउँबस्ती । चारैतिर झाडी पलाएको छ । त्यही झाडीभित्र जीर्ण बन्दै गएका घर छन् । मर्दा मलामी र पर्दा साथ दिने छरछिमेकी पनि पाउन मुस्किल पर्छ ।

बागलुङका ग्रामीण क्षेत्रबाट सहरबजार झर्नेको लर्को नै लागेको छ । जसको असर गाउँमै बस्नेले भोग्नुपरेको छ । जब गाउँलेले बजार रोजे, तब बाँदरले गाउँमा राज गर्न थाल्यो । सुन्दा अचम्म लाग्दो भए पनि यो बागलुङका ग्रामीण क्षेत्रको यथार्थ हो

जिल्लाको काठेखोला, बरेङ गाउँपालिका, जैमिनी, गलकोट नगरपालिकालगायत धेरै ठाउँमा बाँदर आतङ्क बढेको छ । गाउँमा सुविधा थपिँदै गए पनि बसाइँसराइ रोकिन सकेको छैन । बसाइँसराइका कारण बाँदर आतङ्क बढेको हो ।

स्थानीयले गाउँ छोड्न थालेपछि खेतीयोग्य जमिन बाँझिँदै गएका छन् । सुनसान बनेको गाउँमै हिजोआज बाँदरको बास बस्छ । रित्ता घर र गोठको आँटीसम्मै बाँदर पुग्ने गर्छ । गाउँमा रहेका स्थानीयलाई बाँदरले हैरानी बनाएपछि बसाइँसराइ विकल्प बन्ने गरेको छ ।

जैमिनी नगरपालिका–६ का तमबहादुर थापाको दैनिकी बाँदर धपाउनमै बित्ने गरेको छ । गाउँ नजिकको जङ्गलमा रहेका सयौँको सङ्ख्यामा बाँदर एकै पटक गाउँ पस्दा बालीनाली नष्ट गरिदिने भएकाले थापालाई घर छोडेर कतै जाने फुर्सद हुँदैन ।

गाउँ छिरेको बाँदरले बारीका मात्रै होइन, घरमा राखेका अन्नपातसमेत खाइदिने गरेको छ । घर छोडेर एकैछिन यताउता गएको बेला सबै सामान नष्ट गरिदिने भएकाले उनी दिनभर घर कुरेर बस्छन् । छरछिमेकी कोही विदेश गए, कोही बसाइँसराइ गरेर तराई झरे । उनी गाउँ छोडेर कतै जान सकेका छैनन् ।

village baglung (1)

गाउँमा भएका घर रित्तिँदै गएका छन् । रित्तो घरमा बाँदरले रजाइँ गरिरहेका छन् । सेवा सुविधाको खोजीमा बसाइँसराइ गर्ने बढेपछि गाउँ सुनसान हुँदै गएको हो । सुनसान गाउँमा बाँदरसँगै अन्य वन्यजन्तुले पनि बेलाबेला स्थानीयलाई दुःख दिने गरेको गुनासो आउने गरेको छ । थापाजस्तै गाउँका अन्य धेरै मानिसहरू दिनभर घर छोडेर बाहिर जाँदैनन् । जानै परे पनि एक जना घर कुरुवालाई राखेर जानुपर्छ ।

बारीमा लगाएको अन्नबाली, फलफूल र तरकारीसमेत बाँदरले नष्ट गरिदिने भएकाले किसानसमेत मर्कामा पर्ने गरेका छन् । बाँदर धपाउनका लागि गाउँलेले अनेक उपाय नअपनाएका होइनन् । कहिले थाल ठटाएर, कहिले आवाज आउने पटका पड्काए त कहिले डमी बनाएर बारीको ठाउँठाउँमा राखे । सुरुसुरुमा डराएर भाग्ने गरे पनि पछिपछि डराउनै छोडे । हिजोआज त बाँदरले आक्रमण नै गर्न खोज्ने थापाले सुनाए ।

उनले भने, ‘पहिले–पहिला मानिस देख्यो भने भाग्ने गथ्र्यो । अहिले त झम्टिन आउँछ । बाँदरले गर्दा धेरै मानिसले गाउँ छोडे । हाम्रो पनि गाउँमा बस्न नसकिने अवस्था भयो, बालीनाली सबै बाँदरले खाइदिन्छ । के खाएर गाउँमा बस्ने? यसको नियन्त्रण गर्न सकिएन भने त अब गाउँमा बस्ने मानिस कोही हुँदैनन् होला ।’

village baglung (2)

पाँच वर्षअगाडिसम्म बाँदरको सङ्ख्या कम भए पनि अहिले बढ्दै गएका छन् । अन्नबाली खाइदिनुका साथै मानिसलाई समेत आक्रमण गर्ने गरेको काठेखोला गाउँपालिका–८ का मोतीप्रसाद कँडेलले बताए । उनले घर कुरेर नबस्ने हो भने साँझ फर्किँदा केही नरहने बताए । बाँदर धपाउनका लागि धेरै प्रकारका युक्ति लगाए पनि अहिले बाठिँदै गएपछि भाग्न छोडेको कँडेलको भनाइ छ ।

‘यसो केही काम परेर घरबारी जानुपरे एक जना कुरुवा राख्नुपर्छ । कुरुवा राख्ने मानिस पनि गाउँमा पाइँदैनन् । गाउँमा गरिखान पनि हम्मेहम्मे पर्न थाल्यो,’ उनले थपे, ‘बाँदरले गर्दा कसैको जन्त र मलामी जाँदा पनि घर कुरुवा राखेर जानुपर्छ । हामीहरू निकै पीडित भयौँ ।’

village baglung (3)

बरेङ गाउँपालिका–१ का केशबहादुर विकले गाउँमा मानिस कम हुँदै गएपछि बाँदर बढेको बताए । पहिले जङ्गलमा मात्रै भेटिने बाँदर हिजोआज घरमै आएर सताउने गरेको उनको भनाइ छ । बाँदरको दीर्घकालीन व्यवस्थापन गर्न नसके धेरैले गाउँ छोड्न बाध्य हुने उनले बताए । वनजङ्गल बढ्दै गएको र खेतीयोग्य जमिन पनि बाँझोमा परिणत हुँदै गएपछि गाउँ उराठिलो बन्दै गएको उनी बताउँछन् ।

विकले भने, ‘बाँदरले गरिखान दिएन । बारीमा केही लगायो, पसाउन थालेपछि नष्ट गरिदिन्छ । घरको झ्यालबाट भित्र पसेर अन्नपात खाने र लत्ताकपडा च्यातिदिने गर्छ । हुन त पहिले गाउँमा धेरै मानिस थिए । अहिलेको जस्तो सुनसान थिएन । त्यही भएर उतिबेला बाँदर नआएको होला ।’

village baglung (4)

जिल्लाका धेरै स्थानमा बसाइँसराइका कारण खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छोपिन थालेको छ । गाउँमा बुढापाकाबाहेक अरू कोही छैनन् । युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका हुन् । एक दशकअगाडिसम्म रमाइलो गाउँबस्ती हिजोआज उराठलाग्दो बनेका छन् । सेवा सुविधा घरको दैलोमै पुगेका छन् तर सेवा सुविधाको उपभोग गर्ने मानिस निकै कम छन् ।

काठेखोला गाउँपालिकाका पूर्णप्रसाद कँडेलले गाउँबाट धेरै स्थानीय बसाइँसराइ गरेर बजार झरेपछि बाँदर आतङ्क बढेको बताए । पहिले गाउँमा धेरै मानिस हुँदा चहलपहल हुने भएकाले बाँदर नआएको भन्दै अहिले गाउँ सुनसान बन्दै गएपछि आतङ्क बढेको उनको भनाइ छ । यही हिसाबले बाँदरको सङ्ख्या बढ्ने र बसाइँसराइ हुँदै गए गाउँमा बाँदर मात्रै हुने स्थिति आउन सक्ने कँडेल बताउँछन् ।

village baglung (5)

‘गाउँमा सबै सम्भावना छ । तर बाँदर मुख्य समस्या बनेर आयो । यसको समाधान कसरी गर्न सकिन्छ होला?’ कँडेलले भने, ‘जनतालाई धेरै दुःख दिने बाँदरलाई मार्न पनि नपाइने, मारे उल्टै जेलसम्म जान सकिने कानुन रहेछ ।’ 

साभार राटो पाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS