तनहुँ ।
क्रान्ति योद्धा एकदेव आलेको ५७औँ स्मृति दिवस तथा शालिक अनावरण कार्यक्रम व्यास नगरपालिका–३, दमौलीस्थित एकदेव आलेको भवन परिसरमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष, नेपाल सरकारका पूर्वमन्त्री तथा गण्डकी प्रदेश सरकारका प्रथम मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्वर्गीय एकदेव आलेको शालिक अनावरण तथा माल्यार्पण गर्दै स्मृति दिवसको उद्घाटन गरेका थिए । एकदेव आले प्रतिष्ठानका अध्यक्ष विष्णुभक्त सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकदेव आलेका अनुयायी राजनीतिज्ञ तथा कम्युनिस्ट आन्दोलनका पुराना योद्धाहरूले उनको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाल सरकारका पूर्वमन्त्री एवं संविधानसभा सदस्य एम.एस. थापा, गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर चुमान, प्रतिष्ठानका संरक्षक प्रतापलाल श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, एकदेव आले प्रतिष्ठान बुटवलका अध्यक्ष लोकनाथ भण्डारी, नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कडेल, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टी तनहुँका संयोजक सूर्यबहादुर गौली, मशालका नेता पुष्पलाल श्रेष्ठ, वाम बुद्धिजीवी शेषमणि आचार्य, प्रतिष्ठानका सल्लाहकार संयोजक श्रीराम कार्की तथा व्यास–३ दमौलीका वडा सदस्य बिनु श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा एकदेव आलेका अनुयायी तथा नेपाल सरकारका पूर्वमन्त्री एवं संविधानसभा सदस्य कमरेड एम.एस. थापा, कमरेड शिवलाल थापा र लेखनाथ नगरपालिका कास्कीका पूर्व नगरप्रमुख शालिग्राम पौडेललाई अभिनन्दनसहित सम्मान पत्र प्रदान गरिएको थियो। सो अवसरमा एमाले केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य यशोधा रिमाल, गण्डकी प्रदेश सभाका पूर्व सदस्य तथा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, प्रतिष्ठान बुटवलका पूर्व अध्यक्ष रामलाल काफ्ले, बरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, क्व्होलासोथार गाउँपालिका लमजुङका अध्यक्ष सूर्यप्रसाद गुरुङलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष मनुमाया श्रेष्ठले राखिन् । कार्यक्रम सञ्चालन सचिव नेत्रबहादुर रानाभाटले गरेका थिए ।















