दमौली तनहुँ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ जिल्लामा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन्।
जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार पुरुष मतदाता एक लाख २३ हजार चार सय ९१ र महिला मतदाता एक लाख ३० हजार नौ सय छ जना छन्।
जिल्लामा रहेका दश पालिकामध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम देवघाट गाउँपालिकामा रहेका छन्। तनहुँमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। क्षेत्र नम्बर १ मा एक लाख ३६ हजार एक सय १८ र क्षेत्र नम्बर २ मा एक लाख १८ हजार दुई सय ७९ मतदाता कायम छन्। क्षेत्र नम्बर १ मा व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछन्।
क्षेत्र नम्बर २ मा शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका समावेश छन्।
पालिकागत तथ्यांक अनुसार व्यास नगरपालिकामा ५१ हजार तीन सय छ, भानु नगरपालिकामा ४२ हजार एक सय चार, शुक्लागण्डकी नगरपालिकामा ४० हजार तीन सय पाँच, भीमाद नगरपालिकामा २५ हजार तीन सय ११ मतदाता रहेका छन्।
यसैगरी आँबुखैरेनी गाउँपालिकामा १४ हजार ६२, देवघाट गाउँपालिकामा १२ हजार छ सय ४४, बन्दीपुर गाउँपालिकामा १६ हजार दुई, ऋषिङ गाउँपालिकामा १८ हजार सात सय ४४, घिरिङ गाउँपालिकामा १४ हजार छ सय १३ र म्याग्दे गाउँपालिकामा १९ हजार तीन सय छ मतदाता रहेका छन्। जिल्लामा तीन सय नौ मतदान केन्द्र रहेका छन्।
ऋषिङ गाउँपालिका वडा नम्बर ४ र ६ मा एक एक मतदान केन्द्र थप गरिएको निर्वाचन कार्यालयले जनाएको छ। मतदाता नामावली दर्ता अभियानका क्रममा सात हजार तीन सय ९३ नयाँ मतदाता थप भएका छन्। निर्वाचनका लागि कार्यालयको आन्तरिक तयारी तीव्र गतिमा अघि बढिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।


सुशील लामगादे बि.क. 













