images
images

एमाले महाधिवेशनमा गण्डकीको अवस्था के ? यी हुन् पदाधिकारीका दाबेदार

images

पोखरा । राष्ट्रिय राजनीतिमा विगत केही दशकदेखि गण्डकीको उपस्थिति खासै बलियो छैन । दलहरूको सत्तामा पनि गण्डकीले हस्तक्षेप बढाउन सकेको छैन । राष्ट्रिय जनमोर्चाको अध्यक्षमा बागलुङका चित्रबहादुर केसी छन् । जन्मका आधारमा मान्ने हो भने तत्कालीन माओवादी  (हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि गण्डकीका हुन्, तर उनी चितवन बसाइ सरिसकेका छन् ।

कांग्रेस र एमालेमा त नेतृत्वको खडेरी नै छ । यतिबेला नेकपा एमालेको ११औँ महाधिवेशनको चटारो छ । गण्डकीबाट एमालेको हेडक्वार्टरमा हस्तक्षेप गर्ने नेताहरूको खोजी भइरहेको छ । आधा दर्जन हेभीवेट नेताहरूले पदाधिकारी दाबी गरेका छन् । यद्यपि, उनीहरू आफैँले सार्वजनिक घोषणा गरिसकेका छैनन्, तर उनीहरू निकटस्थले आफ्नै हिसाबको प्रचार गरिरहेका छन् ।

११औँ महाधिवेशनमा गण्डकीको उच्च दाबी महासचिव पदका लागि हो । यसअघिका उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ महासचिवको रेसमा छन्, तर कुन गुटबाट चुनाव लड्ने भन्ने टुङ्गो लागेको छैन । उनी अध्यक्ष केपी ओलीकै प्यानलबाट उम्मेदवार बन्न चाहन्छन् । ओलीले चाहिँ उनलाई बचन दिइसकेका छैनन् । ओली प्यानलमा महासचिव नपाए गुरुङ ईश्वर पोखरेलकै प्यानलबाट भए पनि महासचिव भइछाड्ने तयारीमा रहेको उनी निकट स्रोत बताउँछ ।

‘अहिलेको आन्दोलन नहुँदै अबको १० वर्ष एमालेको नेतृत्व केपीकै काँधमा रहनुपर्छ भनेर घोषणा गर्नुभएको मान्छे उहाँ हो । आफू नेता बन्नका लागिमात्रै भन्दा पनि एमालेको भविष्य सोचेर उहाँले यसो भन्नुभएको हो,’ एक नेताले भने, ‘अहिलेको आन्दोलनपछि त झन् ओलीको विकल्प खोज्ने बेला भएकै छैन भन्ने आन्तरिक निष्कर्ष छ ।’

यही वक्तव्यलाई धेरैले ओलीको विश्वास जित्ने रणनीतिको रूपमा विश्लेषण गरेका छन् । अध्यक्ष ओली र महासचिव शंकर पोखरेलको समीकरणका कारण गुरुङलाई महासचिव बन्न सहज छैन ।

शंकर महासचिव दोहोरिँदा गुरुङलाई उपाध्यक्ष बनाएर ‘सेफ ल्यान्डिङ’ गराउने रणनीति संस्थापनमा देखिएको छ, तर गुरुङ र हालका उपाध्यक्ष विष्णु पौडेलले महासचिव पोखरेलको व्यवस्थापनलाई नियालिरहेका छन् । उनीहरू दुवै जना शंकरलाई नेता बनाउने ओलीको दाउ स्विकार्न तयार छैनन् । विष्णुचाहिँ ईश्वर पोखरेललाई पनि नेता मानेर क्याम्पमा सहभागी हुन चाहँदैनन् । अहिले विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ एकै ठाउँ छन् । विष्णुले अध्यक्ष र महासचिव बाहेकका पदमा उम्मेदवार रहने घोषणा गरिसकेका छन् । यता गुरुङ निकटहरूले महासचिवका रूपमा उनलाई सामाजिक सञ्जालमा उतारेका छन् । गुरुङ महासचिव नबन्ने अवस्थामा उपाध्यक्षमै चित्त बुझाउन सक्ने एकथरीको तर्क छ ।

‘टीम कसरी बन्छ, पदाधिकारीको अवस्था के हुन्छ भन्ने आन्तरिक छलफलमै छ । सकेसम्म महासचिवमा गुरुङको उम्मेदवारी हो । कुनै हालतमा महासचिव नबन्ने अवस्था बने उपाध्यक्ष बन्ने हल्ला पनि छ,’ ती नेताले भने ।

गण्डकी एमालेका इन्चार्ज किरण गुरुङ पनि पदाधिकारीका मुख्य दावेदार हुन । उनी पृथ्वी सुब्बा गुरुङ उठ्ने पदभन्दा अन्यत्रबाट पदाधिकारी बन्ने दाउमा छन् । यद्यपि उनी अन्योल अवस्थामा रहेको बताइन्छ । ‘किरण गुरुङले प्रस्ट घोषणा गरिसक्नुभएको छैन । अलि अन्योलमा हो कि जस्तो देखिन्छ,’ गण्डकीका अर्का एक नेताले भने ।

उपाध्यक्षमा किरणको उम्मेदवारी रहने बुझिएको छ । उनी ओली क्याम्प छोडेर अन्यत्र जाने तयारीमा छैनन् । पृथ्वी सुब्बा गुरुङ उपाध्यक्ष बने किरण सचिवमै रहन पनि सक्छन् भन्ने तर्क छ ।

गण्डकीबाट पदाधिकारीमा अर्को दाबेदारी हालका सचिव पद्मा अर्यालको रहन्छ । उनी सकेसम्म उपमहासचिव, नभए सचिवमै दोहोरिने दाउमा छिन् । स्थायी कमिटी सदस्य खगराज अधिकारी पनि पदाधिकारीको दौडमा छन् । उनी सचिव बन्ने दाउमा रहेको बुझिएको छ । केन्द्रीय सदस्य जगत विश्वकर्माले सचिवमा दाबेदारी घोषणा गरिसकेका छन् । पर्वतका नेता पदम गिरी पनि सचिवका दाबेदार हुन् । यसरी हेर्दा गण्डकीबाट ६ जनाको नाम पदाधिकारीमा सुनिएको छ ।

गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य बन्न चाहनेहरूको सूची लामो छ । प्रचार र सूचनाहरूका आधारमा गण्डकीबाट हाल कायम रहेका करिब ४० जना सदस्य दोहोरिने मुडमा छन् । यसले गर्दा नयाँ अनुहारका लागि मुस्किलले १० देखि १२ सिटमात्र खाली हुने देखिन्छ । रातोपाटी

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS