आबुँखैरेनी,तनहुँ । आबुँखैरेनी गाउँपालिकामा स्थापना गरिएको १५ बेड क्षमताको आबुखैरेनी हस्पिटल संचालनमा आएको आज तीन वर्ष पूरा भएको छ। २०७९ मंसिर १ गते औपचारिक रूपमा सेवा सुरू गरेको यो हस्पिटल गाउँपालिकाले गरेका प्रमुख प्रतिवद्धतामध्ये सफलतापूर्वक कार्यान्वयन हुने परियोजनामा पर्छ।
दोस्रो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट भारी मतले विजयी भएका गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जनतासँग गरेका प्रतिवद्धता पूरा गर्न चुनावपछिका पहिलो छ महिनामै हस्पिटल सञ्चालनमा ल्याएका थिए। सीमित स्रोत साधनका बीच दिन–रात मेहनत गर्दै अध्यक्ष चुमानको नेतृत्वमा सुरु गरिएको यो हस्पिटल सोमबारबाट तीन वर्ष पुरा हुँदा स्थानीय स्वास्थ्य सेवा पूर्ण रूपमा रूपान्तरण भइसकेको छ।
हाल हस्पिटलमा दुई विशेषज्ञ चिकित्सक सहित गुणस्तरीय ल्याब सेवा, डायलाइसिस सेवा, शल्यक्रिया सेवा, दन्त उपचार, आँखा उपचारलगायत विविध स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध छन्। यी सेवाका कारण आबुखैरेनी गाउँपालिका तथा आसपासका पालिकाका नागरिक अब उपचारका लागि शहरका महँगा हस्पिटल धाउनुपर्ने बाध्यताबाट मुक्त भएका छन्।
गाउँपालिका अध्यक्ष शुक्र चुमानज्यूका अनुसार आगामी दिनमा हस्पिटललाई थप व्यवस्थित, स्रोत सम्पन्न र प्रविधिमैत्री बनाउने योजनामा गाउँपालिका अघि बढिरहेको छ। हस्पिटल स्थापना देखि अहिले सम्म विभिन्न भूमिका र जिम्मेवारीमा साथ, सहयोग र योगदान पुर्याउने सम्पूर्ण व्यक्तिहरूप्रति अध्यक्ष चुमानले कृतज्ञता व्यक्त गरेका छन्।
आबुखैरेनी हस्पिटलको तीन वर्षे यात्राले स्थानीयस्तरमै गुणस्तरीय उपचार सम्भव छ भन्ने विश्वास स्थापित गरेको छ, जसले गाउँपालिकाको स्वास्थ्य क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको छ।
















