काठमाडौं । नेपाली विद्यार्थीले विदेशमा पढ्न अब धितोको झन्झट झेल्न नपर्ने भएको छ । नेपालमै पहिलोपटक, एमपावर फाइनान्सिङ नामक अमेरिकी संस्थाले स्नातकोत्तर अर्थात् पोस्टग्राजुएट तहका विद्यार्थीका लागि बिना धितो र बिना जमानी अधिकतम अमेरिकी डलर १ लाख (झन्डै १ करोड ३० लाख रुपैयाँ) सम्मको शिक्षा ऋण सुविधा ल्याएको छ ।
कुनै पनि सम्पत्ति धितो राख्नुपर्ने वा कोसाइनर (ग्यारेन्टर) खोज्नुपर्ने झन्झटबिनै अन्तर्राष्ट्रिय शिक्षा ऋण पाउन सक्ने भएका छन्।
पछिल्ला वर्षहरूमा अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या बढ्दो क्रममा छ । हाल ३२ हजारभन्दा बढी नेपाली विद्यार्थी अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत छन् । यो संख्या एकै वर्ष ४२ प्रतिशतले वृद्धि भएपछिको हो । यति हुँदा हुँदै अझै पनि धेरै परिवारका लागि विदेशमा पढाइको खर्च जुटाउनु सबैभन्दा चुनौतीपूर्ण छ ।
नेपालका परम्परागत बैंक तथा वित्तीय संस्थाले प्रायः जग्गा–जमिन धितो राख्नुपर्ने वा अमेरिकामा जमानी खोज्नुपर्ने सर्त राख्ने गर्छन्, जसले धेरै योग्य विद्यार्थीलाई ऋण लिन कठिन बनाउँछ । यही समस्यालाई समाधान गर्न वाशिङ्टन डी।सी।स्थित एमपावर फाइनान्सिङ अघि सरेको हो ।
एमपावर फाइनान्सिङको मूल्याङ्कन प्रणाली परम्परागत भन्दा फरक छ । यसले विद्यार्थीको पैतृक र पारिवारिक सम्पत्तिमाथि होइन, उनको विश्वविद्यालय प्रवेश, अध्ययन क्षेत्र र भविष्यको आम्दानी क्षमतालाई ध्यानमा राखेर शैक्षिक ऋण प्रदान गर्छ । यही कारणले गर्दा एमपावर फाइनान्सिङले बंगलादेश, पाकिस्तान र अफ्रिकाका २० हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराइसकेको छ । अब यो सुविधा नेपाली विद्यार्थीका लागि पनि खुला भएको संस्थाले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।
संस्थाका अनुसार विद्यार्थीहरूले दुई हजार एक अमेरिकी डलरदेखि एक लाख डलरसम्मको ऋणका लागि आवेदन दिन सक्छन् । जसमा ट्युसन शुल्क मात्र होइन, बसोबास तथा अन्य खर्चहरू पनि समेटिन्छ । आवेदन प्रक्रिया पूर्ण रूपमा डिजिटल रहेको साथै स्थिर ब्याजदर र पारदर्शी भुक्तानी योजना रहेकाले विद्यार्थी र अभिभावकलाई खर्च व्यवस्थापनमा स्पष्टता र सहजता प्रदान गर्ने संस्थाको विश्वास छ । रातोपाटी














