काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्यामबिच छलफल भएको छ । प्रचण्ड निवासमा सोमबार बिहान भएको छलफल भएपनि एकतामा सहभागी हुनेबारे कुरा नमिलेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार भुसालले पहिला पुनर्गठन गरी एकता गर्ने प्रस्ताव राखेका थिए । तर जवाफमा प्रचण्डले ‘पहिला एकता गरौँ त्यसपछि पुनर्गठन हुँदै जाने’ भनेपछि भुसाल बाहिरिएका थिए ।
‘पार्टी पुनर्गठनका लागि तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने बारे प्रचण्डसँग छलफल भएको थियो । तर उहाँ पुनर्गठनका लागि तयार हुनुभएन । त्यसैले अब कुरा मिलेन’, उनले भने, ‘अहिले तपाईँहरू एकतामा सहभागी हुनुहोस् । क्रमशः पुनर्गठन हुँदै जानेछ भन्नुभयो । आजको आवश्यकता पुनर्गठनको ढोका नखोलीकन एकता हुन सक्दैन । आज ढोका खोल्नोस् तर उहाँले क्रमशः ढोका खोल्छु भन्ने उहाँको भनाइ थियो ।’
प्रचण्डसँग कुरा नमिलेपछि भुसालले पार्टी पुनर्गठन गर्ने तयारीमा जुटेका छन् । आइतबार एकीकृत समाजवादीका बहुमत सदस्यहरूले माओवादी सहित ८ दलसँग पार्टी एकतामा हस्ताक्षर गरेका थिए । रातोपाटी
















