काठमाडौँ । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले दोहोरो चरित्र देखाउने मधेसवादी राजनीतिक दलहरूका कारण नै मधेसले सोचेको जति अधिकार प्राप्त गर्न नसकेको बताएका छन् । उनले मधेसवादी राजनीतिक दलहरूका मुद्दा खरो रूपमा बोक्ने राजनीतिक दलहरू कम रहेको बताएका हुन् ।
मधेसमा जय मधेस भन्ने र काठमाडौँमा सङ्घीय अभिवादन भन्ने राजनीतिक दलका नेताहरू भएकाले मधेस अधिकारहरूबाट सङ्कुचित हुनु परेको उनको भनाइ छ । काठमाडौँमा आएर प्रधानमन्त्रीको पूजा गर्ने र मधेसमा गएर मधेसलाई सखाप पारे भन्ने राजनीतिक दलका नेताहरूको दोहोरो चरित्र मधेसका जनताले बुझ्नुपर्ने उनको भनाई छ।
उनले भने, ‘मधेस र मधेसवादीका निम्ति तपाईँको स्टुडियोदेखि सिंहदरबारसम्म सिंहदरबारदेखि बानेश्वरको सांसद भवनसम्म, सांसद भवनदेखि विदेशी समुदायसम्म, विदेशी समुदायदेखि बालुवाटार प्रधानमन्त्रीको अगाडि आँखामा आँखा जुधाएर बोल्दासम्म र त्यहाँदेखि जनतासम्म एउटै कुरा बोल्ने । यहाँ कस्ता पार्टी पनि छन् कि मधेसमा जय मधेस पनि बोल्छन् काठमाडौँमा सङ्घीय अभिवादन भन्छन् । प्रधानमन्त्रीसँग के भन्छ गएर उनको खुट्टा पुज्छन् अनि मधेसमा गएर के भन्छ आँप झार्यो केपी ओलीले भन्छन् । त्यस्तो डबल स्ट्यान्डर्ड, ट्रिपल स्ट्यान्डर्ड पार्टीहरू तपाईँ देख्न सक्नुहुन्छ ।’
निर्वाचन आउन अझै दुई वर्ष बाँकी रहेकाले यस बिचमा सद्भावना पार्टीलाई जनस्तरसम्म पुर्याउने बताए ।
उनले थपे, ‘तपाईँ जुन भन्नुहुन्छ टेस्टेडको कुरा मलाई लाग्दैन कि टेस्टेड हुनु कुनै खराब कुरा पनि होइन तर फेरि पनि टेस्ट दिन म तयार छु । फेरि टेस्ट होला । टेस्ट त प्रत्येक पाँच पाँच वर्षमा हुन्छ नि नेताको । फेरि अर्को चुनावमा होला । त्यो टेस्ट त फेरि पनि देखिन्छ । हामी कुनै अण्डरग्राउण्ड हुने पार्टी होइन । हामी त फाइनल्ली ब्यालेटको राजनीतिमै जाने हो । त्यो चिजमा फेरि पनि २ वर्ष त बाँकी छ नि । यदि २ वर्षपछिको असोजमा नर्मल टाइममा इलेक्सन भयो भने । म्याक्सिमम त्यही टाइम हो । टेस्ट दिन फेरि पनि तयार छौँ । नेताले त प्रत्येक पाँच पाँच वर्षमा टेस्ट दिनुपर्छ । विद्यार्थीले प्रत्येक वर्षमा टेस्ट दिन पाउँछ । नेताले पाँच पाँच वर्षमा ।’ रातोपाटी
















