काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागको आयोजनामा ‘वैदेशिक शिक्षा अनुभव र नेपालको शिक्षा नीति : संवाद र सम्भावना’ विषयक एक महत्वपूर्ण कार्यक्रम आज सम्पन्न भएको छ। नयाँ बानेश्वरस्थित आनन्दभूमि इभेन्ट्समा बेलुकी ४: ०० बजे सुरु भएको कार्यक्रमले नेपालको शिक्षा नीति निर्माणमा वैदेशिक अनुभवहरूको प्रयोग र समायोजनसम्बन्धी विविध आयाममा गहन छलफल गरेको छ।
कार्यक्रममा शिक्षाविद्, नीति निर्माता, गैरआवासीय नेपाली विभिन्न संघसंस्था तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले नेपालको शिक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय मान्यताअनुसार सुदृढ बनाउने उपायहरूबारे आफ्नो विचार राखेका थिए।
कार्यक्रमका वक्ताहरूले वैदेशिक शिक्षा प्रणालीमा रहेका उत्कृष्ट अभ्यासहरूलाई नेपाली सन्दर्भमा कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे व्यावहारिक दृष्टिकोण प्रस्तुत गरे। साथै वर्तमान शिक्षा नीतिको समालोचनात्मक मूल्याङ्कन गर्दै आगामी सुधारका सम्भावनाहरूको खाका समेत कोरे।
केन्द्रीय शिक्षा विभागले कार्यक्रममा उठेका सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी नीतिगत सिफारिसको रूपमा समेटिने बताएका छन्। कार्यक्रममा आयोजक शिक्षा विभागका प्रमुख नैनसिंह महरले यस्तो संवादात्मक पहललाई नियमित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै, शिक्षा नीतिमा दिगो परिवर्तनका लागि राजनीतिक इच्छाशक्ति र विशेषज्ञताबिचको सहकार्य अपरिहार्य रहेको बताए।रातोपाटी
















