images
images

व्यावसायिक तथा सिप विकास तालिम केन्द्रद्वारा विभिन्न सीपमूलक तालिम संचालन

images

पोखरा ।गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सञ्चालित व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले कपाल काट्ने शैलुन, प्लम्बिङ, मोबाइल मर्मत, एडभान्स ब्युटी पार्लर, फेशन डिजाइन, एडभान्स कटाई सिलाई, मन्टेश्वरी, कुक  (पाक शिक्षा) तथा आधारभूत कटाई सिलाई तालिम सुरु गरेको छ।

तालिमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मंगलबार एक समारोहबीच गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री थापाले प्रदेश सरकार युवाहरूलाई दक्ष जनशक्ति बनाई आत्मनिर्भर बनाउन प्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने, “शिक्षासँगै सीप अभिवृद्धि गरेर मात्र रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ। सीपमूलक तालिमहरूले युवा तथा महिलालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्छन्।”

गण्डकी प्रदेश सरकारले व्यवसायिक सीप विकासलाई विशेष प्राथमिकता दिँदै आएको भनाई उनको छ । मन्त्री थापाले प्रदेश सरकार स्वरोजगारमुखी कार्यक्रमहरू ल्याएर युवालाई सीपयुक्त बनाउने योजनामा रहेको जानकारी गराए । सीप सिकाएर युवाहरुलाई दक्ष बनाउन प्रदेश सरकारले लगानी गरिरहेको उनले बताए ।

तालिम केन्द्रका निमित्त प्रमुख डिल्लीराज सुवेदीले व्यावसायिक सीप विकास तालिम केन्द्र पोखराले निशुल्क रुपमा तालिमहरु उपलब्ध गराउँदै आएको जानकारी गराए । प्रत्येक तालिममा दक्ष प्रशिक्षकहरू परिचालित गरिएको छ भने सहभागीहरूलाई आवश्यक उपकरण तथा तालिम सामग्री पनि प्रदान गरिने उनले बताए ।

तालिमहरू विशेष गरी युवाहरू, बेरोजगार, महिला, दलित, विपन्न तथा पछाडि परेका समुदायका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिएका छन्। तालिम पश्चात सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ, जसले उनीहरूको रोजगार र उद्यमशीलतामा योगदान पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा बोल्दै तालिम केन्द्रका सूचना अधिकारी विनोद रेग्मीले १९ वटा तालिमको सूचना निकालेकोमा आजबाट ९ वटा तालिम संचालनमा आएको जानकारी गराए । ५ सय भन्दा माथि आवेदन परेकोमा १ सय ८० जना अहिले छनोट भएको उनले उल्लेख गरे ।

कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रकाश ढुुंगाना, तालिम केन्द्रका प्रतिनिधिहरू, प्रशिक्षक तथा सहभागीहरूको उपस्थिति थियो। सहभागीहरूले यस्ता तालिमहरूले भविष्यमा स्वरोजगार बन्ने अवसर दिने बताएका छन्।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS