काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसमा मेरिटोक्रेसी मिचेर सहायक क्याम्पस प्रमुख नियुक्त गरिएको छ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्क केसीले वरीयताक्रममा दोस्रो नम्बरमा रहेका उपप्राध्यापक डाक्टर विजय बहादुर थापालाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेका हुन् । एमाले निकटका उपप्राध्यापक डाक्टर थापालाई नियुक्त गरिएसँगै प्राध्यापकहरूबिच असन्तुष्टि व्यक्त भएको छ ।
क्याम्पस प्रमुखले तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा पहिलो नम्बरमा सहप्राध्यापक पर्शुराम पौडेल, दोस्रो नम्बरमा उपप्राध्यापक डाक्टर थापा र तेस्रो नम्बरमा उपप्राध्यापक डाक्टर राम्जी गौतम थिए । शिक्षाध्यक्ष केसीले मेरिटोक्रेसी मिचेर एमाले निकटका प्राध्यापकलाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको एक प्राध्यापकले बताए ।
वरीयताको पहिलो नम्बरमा रहेका पौडेल भौतिकशास्त्र विभागको विभागीय प्रमुखसमेत भइसकेका थिए । २०५८ सालमा स्थायी लेक्टर भएका थिए भने २०६९ सालमा रिडर भएका थिए तर, सहायक क्याम्पस प्रमुखमा नियुक्त भएका थापा भने २०७४ सालमा पीएचडी अध्ययनका लागि बिदामा थिए । यसै वर्ष मात्रै उनी हाजिर भएका थिए ।
प्रतिस्पर्धामा एक नम्बरमा रहेका पौडेल थापाको भन्दा १३ नम्बरले अगाडि थिए । तर, एमाले निकटकै भएको आधारमा शिक्षाध्यक्ष केसीले मेरिटोक्रेसी मिचेर नियुक्त गरिएको ति प्राध्यापकको भनाइ छ ।
छनौट समितिले ३ जनाको नाम सिफारिस गरेको थियो । सर्वोत्तम अंक प्राप्त गर्ने प्रति १ आवश्यक संख्याको ३ जनाको दरले सहायक क्याम्पस प्रमुख पदमा नियुक्तिका लागि वर्णानुक्रमअनुसार सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ ।
बढी अंक प्राप्त गर्नेलाई प्राथमिकता दिई समितिले सिफारिस गर्नुपर्ने व्यवस्था छ । सोही आधारमा समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । छनौट समितिले गरेको सिफारिसको आधारमा क्याम्पस प्रमुखले शिक्षाध्यक्ष समक्ष पेश गरेको थियो । शिक्षाध्यक्ष केसीले मेरिटोक्रेसीका आधारमा सिफारिसमा परेकाहरूलाई नियुक्त नगरी एमाले निकटका उपप्राध्यापकलाई नियुक्त गरेको ति प्राध्यापकको भनाइ छ ।रातोपाटी
















