images
images

भरतपुर, गोरखा र आँबुखैरेनीबीच पर्यटन प्रवर्द्धनमा सहकार्यको नयाँ पहल

images

तनहुँ
भरतपुर महानगरपालिका, गोरखा नगरपालिका र आँबुखैरेनी गाउँपालिकाबीच अनुभव आदानप्रदान कार्यक्रम भरतपुर महानगरसभा हलमा सम्पन्न भएको छ। तीनै पालिकाका जनप्रतिनिधि र सरोकारवाला व्यक्तिहरूको उपस्थितिमा भएको कार्यक्रममा स्थानीय तहहरूको सहकार्य र अनुभव साटासाटका माध्यमबाट विकासको नयाँ आयाम खोज्ने प्रयास गरिएको थियो।

विशेष गरी गोरखा नगरपालिकाले पर्यटन वर्ष २०२५ मनाउन लागेको पूर्वसन्ध्यामा भरतपुर महानगरले आयोजना गरिरहेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ को पर्यटन प्रवर्द्धन अभियानका अनुभव र तयारीबारे चासो व्यक्त गरेको थियो। भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षलाई सफल बनाउनका लागि अपनाइएको योजना, नीति तथा कार्यान्वयनका उपायहरूबारे विस्तृत जानकारी गराउँदै, पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यबारे बताइन् ।

कार्यक्रमका क्रममा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर थापामगरले आफ्नो नगरले पर्यटन प्रवर्द्धनका लागि गरिरहेका प्रयासहरूबारे जानकारी गराउँदै, भरतपुरको अनुभवबाट सिकेर गोरखालाई पर्यटकमैत्री बनाउन सकिने सम्भावनाबारे चर्चा गरेका थिए । उनले भरतपुर महानगरले हासिल गरेको सफलताबाट धेरै प्रेरणा लिन सकिने बताए ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आफ्नो गाउँपालिकामा भएका उल्लेखनीय कामहरूको जानकारी गराउँदै, आगामी दिनमा भरतपुर महानगर र गोरखा नगरपालिकासँग सहकार्य गरेर ग्रामीण पर्यटन र कृषि पर्यटन प्रवर्द्धन गर्न चाहेको बताए। उनले स्थानीय तहबीचको सहकार्यले समग्र क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा तीनै पालिकाका प्रतिनिधिहरूले विभिन्न विषयमा अनुभव साटासाट गर्दै आगामी दिनमा सहकार्यको नयाँ रणनीति बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्। सहभागीहरूले विशेषगरी पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, प्रशासनिक सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा गहन छलफल गरेका थिए।

कार्यक्रमको समापनमा भरतपुर महानगर प्रमुख रेनु दाहालले तीनै पालिकाबीचको सहकार्यलाई अझ बलियो बनाउँदै दीर्घकालीन रूपमा लाभ लिन सकिने बताइन् । उनले स्थानीय तहहरूको साझेदारी र अनुभव आदानप्रदानले मात्र दिगो विकास सम्भव हुनेमा जोड दिइन् ।

कार्यक्रमले भरतपुर, गोरखा र आँबुखैरेनीबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै क्षेत्रीय विकास र पर्यटन प्रवर्द्धनका नयाँ सम्भावनाहरूलाई उजागर गर्ने अपेक्षा गरिएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS