तनहुँ
महिला उद्यमी समिति तनहुँले बिहिबार दमौलीमा नेपाल घरेलु तथा साना उद्योग महासंघको ३५ औं स्थापना दिवस मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले सीपमूलक तालिमहरू लिएका महिलाहरूलाई उद्यमशीलतामा लाग्न आग्रह गरिन् । स्थानीय स्तरमा उत्पादित सामाग्रीहरूको व्यापारीकरणका लागि महिला उद्यमी समिति तनहुँले दमौलीमा सञ्चालन गरेको कोसेली घरको प्रवर्द्धनमा नगरपालिकाले सहयोग पु¥याउने दरैले बताइन् । व्यास नगरपालिका वडा नं। ३ का अध्यक्ष अनुप रानाले महिलाहरूका लागि स्वरोजगार सिर्जना गर्ने कार्यक्रममा प्राथमिकता दिइने बताए । घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी समिति तनहुँका संस्थापक अध्यक्ष मछिन्द्रा श्रेष्ठले सीपको सदुपयोग गरि आफ्नै खुट्टामा उभिएका महिला समाजमा सशक्त हुने विचार राखिन् ।
मिलीजुली कृषि सहकारीका अध्यक्ष ईश्वर गौलीले एकता र सहि योजना भए गाउँघरमै उपलब्ध वनस्पतिजन्य प्राकृतिक स्रोत साधनबाट राम्रो आम्दानी लिन सकिने बताए । घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय सदस्य ताराराम श्रेष्ठले साना उद्योगीहरू विच एकताको आवश्यकता औल्याए । कार्यक्रममा बोल्दै पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले उद्यमशिलाको विकास गर्न अग्रसर हुनुपर्ने बताए ।
महिला उद्यमी समिति तनहुँले पर्यटन तथा उद्योग कार्यालय तनहुँको प्राङ्गणमा सञ्चालन गरेको कोसेली घर संचालनमा ल्याएको सचिव सिर्जना कोइरालाले बताइन् ।
दिवसको अवसरमा समितिले मिलीजुली कृषि सहकारी आँबुखैरेनी, निखिल ढाका उद्योग दमौली र नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई सम्मान गरेको छ।
महिला उद्यमी समिति तनहुँले सञ्चालन गरेको कोसेली घरमा निरन्तर स्थानीय उत्पादनहरू उपलब्ध गराइ पुर्याएको सहयोग कदरस्वरूप मिलीजुली सहकारी र ढाका उद्योग लाई र प्रचारप्रसारका माध्यमबाट महिलाहरूको उद्यमशीलता अभिवृद्धिमा सघाएको भन्दै पत्रकार महासंघलाई सम्मानपत्र प्रदान गरिएको अध्यक्ष कल्पना गौलीले बताइन् ।