आँबुखैरेनी
आँबुखैरेनी गाउँपालिकामा झण्डै ५ दशकभन्दा बढी समय बिताएका आँबुखैरेनी–२, दारीमबोट टोलका डम्वर गुरुङ जग्गा धनी पुर्जा ४० वर्षपछि पाउँदा हर्ष लागेको बताएका छन् ।
गुरुङ्ग भन्छन् , “ मेरो बुवा २०३० सालमा देखी भोग चलन गरेको भएपनि ४० बर्षपछि पुर्जा पाउँदा हर्षित छु ।” उनको बुवा सो ठाँउमा आएर बसोबास गरेका थिए ।
गुरुङ मात्रै हैन आँबुखैरेनी गाँउपालिकामा ४० वर्षपछि आफू बसोबास गरेको जमिनको पुर्जा पाउँदा स्थानीय आइतीमाया गुरुङ पनि खुसी हुँदै भनीनन् , “ हाम्रो परिवारले २०४० सालभन्दा अगाडि झाडी फाडेर यहाँ बसेको सुनाउनु हुन्थ्यो, हाम्रो परिवारको तीन पुस्ता पनि यहीँ बसेका छौँ बल्ल बसेको माटो आफ्नो भयो आजदेखि आफ्नै माटो माथिको बास भयो दङ्ग प¥या छु ।”
आँबुखैरेनी गाउँपालिकाले आफ्नो पालिकामा बसोबास गर्ने सबै नागरिकलाई जमिनको मालिक बनाउने उद्देश्यले भूमिहीन सुकुम्वासी तथा दलितलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्न थालेको छ ।
करिब २ वर्षअघि स्थानीय तह निर्वाचनमा उम्मेद्वार भैरहदा तनहुँ आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जनता माझ भोट माग्दै आफुले चुनाव जिते सुकुम्बासीलाई लालपूर्जा बाड्छु भनेर वाचा गरेका थिए । उनै अध्यक्ष चुमानले यति बेला जनता सामु गरेको वाचा पूरा गर्दै सुकुम्बासीलाई लालपूर्जा बाड्न सुरु गरेको हुन् ।
सोमबार गाउँपालिका प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि जिल्लामै पहिलो पटक आँबुखैरेनी गाउँपालिकाले वडा नं. २ का १३ घर सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गरेको छ । गाउँपालिकाले राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गरेको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका पुर्व मन्त्री तथा प्रदेशसभा सदस्य हरी बहादुर चुमानले १६ वटा आयोग बन्दा पनि सुकुम्वासीले जग्गा नपाएकोमा अहिले आएर भूमिहीन सुकुम्वासी जग्गा पाउनु उपलब्धीको बिषय भएको बताए । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भूमिहिनलाई जग्गाको मालिक बनाउने अभियान सुरु भएको बताए । उनले भने, ‘हामीले चुनावका बेला नै लालपूर्जा वितरण गर्छाै भनेर जनतामाझ भनेका थियौ । त्यो प्रतिबद्धता सुरु भएको छ । हामी आश्वासन दिँदैनौ, काम गरेर देखाउँछौ ।’
चुमानले क्रमिक रुपमा अरु वडाहरुको प्रक्रिया पूरा भएपछि पूर्जा वितरण गरिने बताए । उनले भने, ‘वर्षाै भोगचलन गरेको जमिनको लालपुर्जा हात हातमा पुग्नु समृद्धिको आधार हो।’
कार्यक्रममा प्रदेश सभा सदस्य एवं पूर्व प्रदेशमन्त्री हरि बहादुर चुमानले सुकुम्बासीहरुलाई लालपुर्जा हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै सांसद चुमानले पालिकाका अन्य वडाका भूमिहिनले पनि निकट भविष्यमा लालपूर्जा पाउने बताए ।
आयोगको गत पुस २३ को निर्णय अनुसार भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले जिल्लाका अन्य पालिकामा पनि क्रमशः लालपूर्जा वितरणलाई अगाडी बढाइने बताए ।
कार्यक्रममा आयोगकी सदस्य सर्वदा घिमिरे,जिल्ला समन्वय समितिका उप उप्रमुख बासुदेव थापा,गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्याल लगायले सम्बोधन गरेका थिए । सोही अवसरमा भूमिहिन सुकुम्वासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोवासी सेवा केन्द्रमा रही अहोरात्र खटी उल्लेखनीय भूमिका निर्वाह गरेका सूचना प्रविधि अधिकृत÷सेवा केन्द्र प्रमुख इन्जिनियर निरोज श्रेष्ठ, अमिन सरोज चन्द्र अधिकारी र अमिन सन्जित श्रेष्ठलाई सम्मान गरिएको थियो ।