दमौली
नेपाल मगर संघ व्यास नगर समितिले माघे सङ्क्रान्तिको अवसरमा विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको हो । मगर समुदायको कला, संस्कृति र पहिचान झल्किने कार्यक्रमका साथमा यो बर्ष लाइभ कन्सर्ट पनि गर्न लागिएको आयोजकले जनाएका छन ।
दमौली खुल्ला चौरमा पुस २९ गते र माघ १ गते हुने माघे सङ्क्रान्ति मेला तथा विविध सांस्कृतिक कार्यक्रमबारे पहिलो दिन २९ गते मगर समुदायमा प्रचलित कौराहा नाँच, पाउँदुरे नाच, लगायतका मौलिक कला संस्कृतिलाई स्थान दिइने मंगलबार दमौलीमा आयेजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
माघे सङ्क्रान्तिको दिन बिहान जातिय भेषभूषा सहितको झाँकी तथा ¥याली हुनेछ भने औपचारिक कार्यक्रम सकिए लगत्तै बेलुका ५ बजेबाट १० बजेसम्म लाइभ कन्सर्ट हुने आयोजकले जानकारी दिएको छ । साथै मेलामा मगर समुदायमा प्रचलित खानाका विभिन्न परिकारको स्वाद समेत लिन पाइनेछ ।संस्कार संस्कृतिको जर्गेनासँगै युवाहरुको मागलाई मध्यनजर गरि यस वर्ष माघे सङ्क्रान्ति मेलामा लाइभ कन्सर्ट समावेश गरिएको नेपाल मगर संघ व्यास नगर समितिकी अध्यक्ष रिमा आले मगरले जानकारी दिइन् ।
आफ्नो परम्परालाई निरन्तरता दिदै युवा पुस्तामा संस्कार र संस्कृति हस्तान्तरण गर्न मगरहरुले हरेक वर्ष माघे सङ्क्रान्ति मनाउदै आएको उनले बताइन् । कन्सर्टमा पछिल्लो समय सामाजिक सञ्जाल टिकटकबाट ख्याति कमाएका ¥यापर पारस बम ‘कुल बोइ’को प्रमुख प्रस्तुति रहने मगर सांस्कृतिक संघ गण्डकी प्रदेशका अध्यक्ष एवम् गायक अनुराग थापा मगरले जानकारी दिए । साथै गायक सन्जिव सिंह राना, अनुराग थापा, गायिका मनु राना लगायतको पनि सांस्कृतिक प्रस्तुती रहने थापाले बताए । कन्सर्टमा एक जनाको ३ सय र २ जनाको ५ सय टिकट शुल्क तोकिएको आयोजकले जनाएको छ ।
मौलिकताको जर्गेनासँगै युवाहरुको भावना र चाहनाको कदर गर्दै माघे सङ्क्रान्ति मेलामा केही नयाँपन प्रदान गरिएको नेपाल मगर संघ केन्द्रिय निर्वाचन समितिका संयोजक सिद्धान्त गर्जा मगरले बताए । नेपाल मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष मनिराज थापाले माघे सङ्क्रान्ति मगरहरुको मौलिकतासँग जोडिएको भएपनि सबैलाई केन्द्रित गरि कार्यक्रम आयोजना गरिएकोले सबैले सहयोग गर्न समेत उनले अनुरोध गरे ।
दमौली बजारमा मसान्तको दिनै मेला लाग्ने चलन पहिला देखिकै भएपनि पछिल्लो समय त्यो संस्कार लोप हुदै गएको संघका सल्लाहकार यमबहादुर आलेले बताए ।