images
images
images

गत वर्ष मात्रै नेप्सेमा थपियो पौने २ अर्ब भन्दा बढी कित्ता शेयर, डिमान्ड बढाउने कुनै योजना नहुँदा बजार निरन्तर ओरालो

images

आर्थिक वर्ष २०७९/८० मात्रै १ अर्ब ७९ करोड ५० लाख कित्ता नयाँ शेयर नेप्सेमा थपिएका छन् । बजार निरन्तर घटिरहँदा पनि नयाँ आइपीओ, हकप्रद र बोनस शेयरका कारण सो शेयर थपिएका हुन ।

नयाँ आइपीओ, हकप्रद शेयर, एफपीओ र बोनस शेयर गरेर नयाँ शेयर भने निरन्तर थपिरहेका छन् तर त्यो शेयरको डिमान्ड बढाउने खरिदकर्ता बढाउन नसक्दा बजार निरन्तर घटिरहेकाे छ ।

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामार्फत जाने कर्जा सीमा १२ करोडभन्दा बढाएको छैन भने ५० लाख रुपैयाँसम्मको मार्जिन कर्जालाई मात्रै १ सय प्रतिशत जोखिम भार दिएको छ । राष्ट्र बैंकको यो व्यवस्थाले बजारमा नयाँ डिमान्ड आउन नसकेको लगानीकर्ताहरु बताउँछन् । नयाँ डिमान्ड बढाउन नसके पनि धितोपत्र बोर्डले भने वास्तविक क्षेत्रका कम्पनीहरुलाई पुँजी बजारमा ल्याउने नाममा अन्धाधुन्ध आइपीओ शेयर जारी गर्ने अनुमति प्रदान गर्न लागिपरेको छ । यसले बजारमा शेयरको सप्लाई भने बढेको बढ्यै छ ।

गत आर्थिक वर्षभरि नै शेयर बजार १८०० देखि २२ सयकै सेरोफेरोमा घुमिरहेकाे छ । अधिकतम नेप्से परिसूचक २२ सय ११ दशमलब ७६ विन्दुसम्म पुगेको थियो भने न्यूनतम विन्दु १८ सय १५ दशमलब १३ विन्दुमा आइपुगेको थियो । बजार पुँजीकरण एकदमै उच्च हुँदा ३२ खर्ब १ अर्ब ९२ करोड ९४ लाख ८० हजार रुपैयाँ र बजार पुँजीकरण एकदम न्यून विन्दुमा हुँदा २६ खर्ब ८ अर्ब ९० करोड ३७ लाख रुपैयाँसम्म पुगेको थियो ।

नेपालको पुँजी बजारमा अझै पनि लगानीकर्ताहरु बोनस शेयर नै चाहने खालका छन् । सोही अनुसार बजारमा बोनस शेयर थपेको थप्यै भएको छ । लाभांश स्वरुप बोनस शेयर मात्रै बाँड्दा गत आवमा मात्रै १ सय २६ कम्पनीको ४१ करोड ७१ लाख १२ हजार कित्ता शेयर थपिएका छन् ।

गत आर्थिक वर्षमै एभरेष्ट बैंकको ४ लाख कित्ता प्रिफरेन्स शेयर साधारणमा परिणत भएको छ भने युनिक नेपाल लघुवित्तको ३ लाख ७९ हजार ४ सय २५ कित्ता शेयर एफपीओमार्फत निष्काशन गरेको थियो ।

त्यस्तै नेपाल धितोपत्र बोर्डले आइपीओ निष्काशन अनुमति दिएका ४७ वटा कम्पनीको शेयर नेप्सेमा सूचीकरण भएका छन् । सूचीकरणमा म्युचुएल फन्डसहित गरेर एक वर्षमा १ अर्ब ३२ करोड ७९ लाख ४१ हजार ४० कित्ता शेयर सूचीकरण भएका छन् । ४७ वटा कम्पनीमा ५ वटा क्लोज इन्डेड म्युचुएल फन्ड छन् ।

त्यस्तै गत आर्थिक वर्षमा ९ वटा कम्पनीले हकप्रद निष्काशन गरेका छन् । ८ वटा कम्पनीको हकप्रद शेयर निष्काशन हुँदा नेप्सेमा ४ करोड १४ लाख ३९ हजार ९ सय ४६ कित्ता शेयर थपिएका छन् । हकप्रद निष्काशन गर्ने ८ कम्पनीमध्ये ३ वटा फाइनान्स, एउटा इन्भेष्टमेन्ट कम्पनी र बाँकी ४ वटा हाइड्रोपावर कम्पनी रहेका छन् ।

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८० मा ४२ वटा कम्पनीलाई ५० करोड ८३ लाख ३६ हजार ६ सय ६३ कित्ता शेयर निष्काशन गर्न अनुमति प्रदान गरेको थियो । त्यसमध्ये ३१ वटा हाइड्रोपावर कम्पनी, ४ वटा माइक्रोफाइनान्स, दुई वटा होटल तथा पर्यटन समूहका कम्पनी, उत्पादनमूलक समूहको एउटा, इन्भेष्टमेन्ट समूहको एउटा, अन्य समूह अन्तर्गत मिडिया सेक्टरको एउटा र बाँकी इन्स्योरेन्स क्षेत्रका कम्पनीहरुको शेयर निष्काशन भएका थिए । पछिल्लो समय आइपीओ निष्काशन भएका अधिकांश इन्स्योरेन्स कम्पनीले प्रिमियममा आइपीओ निष्काशन गरेका थिए भने उत्पादनमूलक क्षेत्रको घोराही सिमेन्टले पनि प्रिमियममै आइपीओ निष्काशन गरेकाे थियाे । त्यस्तै हाइड्रापावरतर्फ मान्डु हाइड्रोपावर र भगवती हाइड्रोपावरले समेत प्रिमियममा आइपीओ निष्काशन गर्न अनुमति पाएका थिए । गत आवमा आइपीको निष्काशनको अनुमति पाएका कम्पनीहरुमध्ये सिटिजन्स इन्स्योरेन्सको अहिले आइपीओ निष्काशन भइरहेको छ भने चिरख्वा हाइड्रोपावर र माथिल्लो मैलुन खोला जलविद्युत लिमिटेडले मात्रै सर्वसाधारणलाई आइपीओ निष्काशन गर्न बाँकी छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS