घॅाटीको अगाडी भागमा हुने थाइरोइड ग्रन्थीले उत्पादन गर्ने हर्मोनमा कमी वा बढी भयो भने थाइराइडको समस्या भएको भनिन्छ। यसको काम शरीरको क्रियाकलापलाई (Metabolism) नियन्त्रण गर्नु हो। संसारमा १०% भन्दा बढी बयस्कहरूमा थाइराइडको समस्या रहेको जनाइन्छ। थाइराइडको समस्या नेपालमा उच्च जनस्वास्थ सरोकारको विषय हो।
पहिले आयोडिनको कमिले हुने थाइराइडको समस्या हिमाली र पहाडी भागमा उच्च रहेको थियो। अहिले यो समस्या आत्म प्रतिरोधात्मक प्रणालीमा (autoimmune system) हुने गडबडिले गर्दा हुन्छ र २० देखि ४०बर्षका महिलाहरूमा बढी देखिन्छ। यो समस्या १५ देखि २० प्रतिशत वयस्क नेपालीहरूमा भएको अनुमान गरिएको छ। त्यसमध्ये कमि हुने समस्या लगभग (हाइपोथारोइडिजम) १३% मा र बढी हुने समस्या (हाइपरथाइरोइडिजम) ४-५% मानिसहरूलाई देखिन्छ।। यसले मुटु र रक्तनलीहरूको रोगले (cardiovascular diseases) हुने मृत्युदरलाई २० देखि ८०% बढाउने गरेको छ।
जोखिम समूहहरू
- पारिबारीक पृष्ठभूमि भएका मानिसहरू
- महिलाहरू : पुरूषभन्दा ५ देखि ८ गुणा बढी
- बयस्क र बृद्दअबस्था
- गोरा जातीका मानिसहरू
- अन्य अटोइम्युन रोग भएका मानिसहरू जस्तै: टाइप १ मधमेह, बाथरोग, दुबी, पर्निसियस एनिमिया इत्यादी
- अत्याधिक आयोडिनयुक्त खाना वा औषधि प्रयोग गरेमा
- गलगॅाड भएका मानिसहरू
यसको कारणले मुटु र रक्तनलीहरूमा (cardiovascular) हुने समस्याहरू
- उच्च रक्तचाप
- उच्च कोलेस्ट्रोल
- मुटु मांशपेशीमा कमजोरी ( मुटु फेल गराउने)
- मुटुको चालमा गडबडी जस्तै: अतिरिक्त धडकन, अनियमित र अनियन्त्रित चाल ( Atrial Fibrillation)
- रक्तनलीहरुको भित्री तहमा हुने क्षती
- मुटुको बाहिरी झिल्लीमा पानी जम्ने
हाइपोथाइरोइडिजम (थाइरोइड हर्मोन कम हुने समस्या) र मुटुरोग
- यसले रक्तनलीको लचकतालाई कम गरेर कडा बनाउने र रक्तचाप बढाउने काम गर्छ।
- मुटुको खुम्चने र फुल्ने क्षमतामा कमी ल्याउॅछ ।
- मांशपेशी कमजोर हुन गई मुटु फेल हुने समस्या बढाउॅछ।
- शरिरमा कोलेस्ट्रोल मात्रा बढाउने र रक्तनलीको भित्री तहमा क्षती हुन गई चिल्लो पदार्थ जम्ने ( आथेरोस्क्लेरोसिस) र हार्ट अट्याकको समस्या बढने गर्छ।
हाइपरथाइरोइडिजम (थाइराइड हर्मोन बढी हुने समस्या) र मुटुरोग
थाइरोइड हर्मोन बढी भएमा शरिरमा मेटाबोलिज्म बढ्छ र फलस्वरूप मुटुमा भार पर्ने, बिस्तारै मुटुको कोठाहरू फुल्ने, मांशपेशी कमजोर हुने र मुटु फेल हुने समस्या बढ्छ। त्यस्तै फोक्सोको रक्तनलीहरूमा चाप बढ्न जाने (pulmonary hypertension) र स्वॅास्वॅा बढ्दै जाने हुन्छ।
मुटुको चाल बढ्ने, अनियमित र अनियन्त्रित (एट्रियल फिब्रिलेसन) हुन गई मुटुको माथिल्लो देब्रे कोठामा रगतको ढिक्का जम्ने र मस्तिस्कमा गई प्यारालाइसिसको संभाबना बढाउॅछ। बिश्राम अवस्थामा पनि मुटु ढुकढुक हुने, शरिर हल्लिएको महसुस हुने, पसिना आइरहने समस्या हुन्छ। यसले शरिरमा रगतलाई जमाउने तत्वहरूको उत्पादन बढाएर मुटुमा रगतको ढिक्का बन्ने संभाबना बढाउॅछ।
मुटुको चालको गडबडीमा प्रयोग हुने औषधी एमियोड्यारोन र थाइरोइडको समस्या
एमियोड्यारोन मुटुको एरिद्मियाको (अत्यधिक मुटुको चाल बढने) समस्यामा प्रयोग हुने औषधि हो। धेरै प्रभाबकारी भएकोले सामान्यतया यस्को प्रयोग संसारभर गरिन्छ। एमियोड्यारोन मा हुने अत्याधिक आयोडिनले गर्दा १५ देखि २० % मानिसहरूमा थाइरोइडको समस्या देखिन्छ। यसको कारण थाइरोइड हर्मोन कम हुने वा थाइराइड हर्मोन बढी हुने दुबै समस्या हुन सक्छ।यसको समाधान भनेको यो औषधिको प्रयोगलाई बन्द गर्ने र थाइरोइडको समस्या अनुसार औषधि सेबन गर्नु हो।