
घोराही सिमेन्टकाे कारोबार खुलेको पहिलो दिन नै २३ करोड बढीको शेयर खरिद बिक्री भएको छ। सो बिक्रीमा अधिकाँश साना कारोबार छन्। ठूला कारोबार भने निकै न्यून छ।
आइतबारको कारोबारमा ८० कित्ताभन्दा माथिको कारोबार १३ प्रतिशत मात्रै छ। अरु सबै साना कित्ता शेयर कारोबार भएको छ।
सर्वसाधारणले घोराही सिमेन्टको आइपीओमा ८० कित्तासम्म शेयर पाएका थिए। यसले आइतबारको सेलिङ अधिकाँश साधारण लगानीकर्ताबाट आएको देखिन्छ।
करोबार खुलेको पहिलो दिन नै कम्पनीको २३ करोड १५ लाख ६८ हजार ३८३ रुपैयाँ बराबरको ४ लाख ४६ हजार ५५० कित्ता शेयर कारोबार भएको हो। जसमा ३ लाख ८६ हजार ६५२ कित्ता अर्थात ८६.५६ प्रतिशत शेयर ८० कित्ताभन्दा सानो कारोबार छ भने ६० हजार ३५ कित्ता शेयर ८० कित्ता भन्दा बढीको कारोबार छ जुन कुल कारोबारको १३.४४ प्रतिशत मात्रै हो।
ठूला कित्ताको धेरै शेयर कारोबार नहुँदा भने म्युचुअल फण्ड र वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले भने धेरै शेयर बिक्री नगरेको देखिन्छ। आइतबार म्युचुअल फण्डहरुले शेयर होल्ड गरेको आँकलन गर्न सकिन्छ।
कम्पनको आइतबारदेखि दोस्रो बजारमा शेयर कारोबार खुलेको थियो। नेप्सेले घोराहीको पहिलो कारोबारको लागि न्युनतम २२६ रुपैयाँ ६१ पैसादेखि ६७९ रुपैयाँ ८३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो।
नेप्सेमा पहिलो कारोबार ५६५.५० रुपैयाँमा खुलेको थियो। कारोबार खुल्ने वित्तीकै कम्पनीको शेयरमूल्य ५८१ रुपैयाँसम्म पुगेको भए पनि त्यो टिक्न सकेन। अन्तिममा कम्पनीको शेयरमूल्य नकारात्मक सर्किट लागेर ५०९ रुपैयाँमा बन्द भयो।
कम्पनीको शेयरमा लगानीकर्तालाई अझै पनि फाइदा नै छ। कम्पनीकाे प्रतिकित्ता ४३५ रुपैयाँमा शेयर बिक्री गरेकोमा अझै प्रतिकित्ता ७४ रुपैयाँ फाइदा छ। तर आइतबार कम्पनीको शेयरमूल्य ह्वातै घट्दा भने आफुले खरिद गरेकै मूल्यमा आउन सक्ने डरले साधारण लगानीकर्ता आत्तिएर शेयर बिक्री गर्नतिर लागेका हुन्।
- साढे ५ लाख बढीले पाएका थिए शेयर
कम्पनीको आईपीओमा ५ लाख ५७ हजार ७०१ जनाको योग्य आवेदन थियो। आईपीओ १० कित्तादेखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनाले माग अनुसार पाएका थिए भने ८० देखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई ८० कित्ता शेयर बाँडफाँड गरीएको थियो।
सर्बसाधारणले ८० कित्ताभन्दा बढी शेयर पाएका थिएनन्। यसले गर्दा ८० कित्ताभन्दा ठुलो कारोबार भने म्युचुअल फण्ड र बैदेशिक रोजगारीमा रहेका नेपालीले बिक्री गरेका हुन्।
कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशत अर्थात ७९ करोड ४३ लाख ८० हजार १०० रुपैयाँ बराबरका ९७ लाख ४३ हजार ८०१ कित्ता शेयर मध्ये ५ प्रतिशतले हुन आउने ३ करोड ९७ लाख ९१ हजार रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँमा ३०० थप गरी प्रतिशेयर ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरेको थियो।
कम्पनीले सामुहिक लगानी कोष र बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि जारी गरेको सबै शेयर बिक्री भएको थिए। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५४ हजार ६६१ कित्ता शेयर निष्कासन खुला गरेको थियो, जसमा ६ लाख ६ हजार ३५० कित्ता शेयर मात्रै बिक्री भएको थियो। यस्तै सामूहिक लगानी कोषहरुको लागि ३ लाख ७७ हजार ३३१ कित्ता शेयर छुट्याएकोमा ३ लाख २८ हजार ९६१ कित्ता शेयर बिक्री भएको थियो।
यसअघि कतिपय कम्पनीमा आइपीओ खुलेकै दिन शेयर बिक्री गर्ने गरेका म्युचुअल फण्डहरुले यसपटक भने सबै शेयर बिक्री गर्नतिर नलागेको देखिन्छ।