अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साउन १८ गतेदेखि २२ गतेसम्म निष्काशन गरेको शेयर भाेलि (साउन २९ गते) सोमबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार भोलि साँझ ५ बजे शेयर बाँडफाँट हुने भएको हो ।
पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओ करिब साढे १३ लाख आवेदकबाट १ अर्ब ५१ करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख ३२ हजार कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणको लागि निष्काशन गरेको १९ लाख ५३ हजार २७९ कित्ताको ७.७४ गुणा बढी हुन आउँछ ।
कम्पनीले निष्काशन गरेको आईपीओ माग भन्दा बढी आवेदन परकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्ये १ लाख ९५ हजार ३२७ जनाले मात्रै शेयर पाउनेछन् ।
कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने ३९ हजार ७६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको शेयर सहित कुल १९ लाख ५३ हजार २७९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशनमा ल्याएको थियो ।
















