काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले न्यूनतम पारिश्रमिक बोर्ड मार्फत चाँडो श्रमिकको पारिश्रमिक तोक्न माग गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी नेपालको श्रम ऐन, २०७४ ले श्रमिकको न्यूनतम पारिश्रमिक हरेक दुईरदुई वर्षमा त्रिपक्षीय सहमतिका आधारमा निर्धारण हुने व्यवस्था गरेको स्मरण गराए । उनले सो प्रावधान अहिलेसम्म कार्यान्वयनमा नभएको जनाउँदै न्यूनतम पारिश्रमिक बोर्डमार्फत पारिश्रमिक तोक्न माग गरेका हुन् ।
“साउनको दोस्रो हप्ता पुगीसक्दा पनि सरकारको तर्फबाट श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण हुन नसक्नु दुःखद् कुरा हो, तत्काल न्यूनतम पारिश्रमिक बोर्डको बैठक बोलाएर पारिश्रमिक तोक्न माग गर्दछौँ”, महासचिव राईले भने ।
















