
गोरखा ।
बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन भएको छ । गोरखा जिल्लाको सिरुङ्टारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ सय मेगावाट क्षमताको जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका हुन् ।
यससँगै बहुचर्चित यो आयोजनाको निर्माण सुरु हुने अपेक्षा बढेको छ । गोरखा र धादिंग जिल्लाको बीचबाट बग्ने बुढीगण्डकी नदीमा २६३ मिटर अग्लो ड्याम बन्ने छ भने पावर हाउस गोरखा जिल्लामा रहने छ।
उक्त ड्याम ६३ किलोमिटर क्षेत्रफलमा फैलिने छ । यस्तै ड्याम बनेपछि पानी भरिन करिब डेढ वर्ष लाग्ने बताइएको छ । सरकारले आयोजनालाई अगाडि बढाउन भन्दै यही साता काठमाडौँमा केन्द्रीय कार्यालय स्थापना गरिसकेको छ ।
यस्तै बुढिगण्डकी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा जगत श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी खुलेर केन्द्रीय र स्थानीय कार्यालय खुले पनि आयोजनाका लागि चाहिने लगानी रकम भने टुङ्गो लागेको छैन । आयोजना बनाउने लक्ष्यसहित हालसम्म करिब ४२ अर्ब खर्च भैसकेको छ । यस्तै, सरकारले बुढिगण्डकीका लागि भन्दै पेट्रोलियम पदार्थबाट प्रतिलिटर १० रुपैयाँका दरले ७२ अर्बभन्दा बढी सङ्कलन गरिसकेको छ ।
अहिले भने सरकारले पूर्वाधार विकास शुल्कका नाममा उक्त रकम उठाउँदै आएको छ । यो आयोजनाको निर्माण कार्य अघि बढेकाले राष्ट्रिय गौरवको आयोजना छिट्टै अघि बढ्ने कम्पनीका प्रमुख श्रेष्ठले बताए ।