तनहुँ
होली पर्व मनाउन व्यास नगरपालिकाका मेयर लगायतका जनप्रतिनिधीले व्यास नगर समता विद्यालयमा पुगेका छन् । मेयर लगायत जनप्रतिनिधिहरुले समता विद्यालयमा अध्ययन गर्ने बालबालिकासँग सोमबार होली पर्व मनाएका छन् । जनप्रतिनिधीसँग होलीपर्व मनाउन पाउँदा बालबालिकाहरु खुसी भएका थिए । जनप्रनिधिले विद्यालयमा आश्रित ४४ जना अनाथ बालबालिकासँग होली खेल्दै उनीहरुलाई भोजनसमेत खुवाएका थिए । नगर प्रमुख वैकुष्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रवक्ता जीवन गुरुङ, वडा नम्बर ९ का वडाध्यक्ष सुरेश थापा लगायतको जनप्रतिनिधी तथा शिक्षा शाखाका प्रमुख नविन पराजुलीले बालबालिकासँग होली पर्व मनाएका हुन् ।
वडा नम्बर –७ को शेषमटार, नरङगामा रहेको हाल बन्द अवस्थामा रहेको क्यामिन कोट प्राथामिक विद्यालयमा समता विद्यालय सञ्चालन गरिएको छ । नगरपालिकाले अति विपन्न, अभिभावक विहीन, शिक्षाको पहुँचमा नरहेका ४४ जना बालबालिकालाई खाना र आवासको व्यवस्था विद्यालयमा गरिएको नगरपालिकाले जनाएको छ । ४० लाख खर्च गरेर बन्द भएको विद्यालयको भौतिक संरचना बनाईएको र यो वर्ष १ करोड बजेट विनियोजन गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिए ।
५० लाख अध्यन, खाना तथा आवासीय खर्च र ५० लाख रुपियाँ शिक्षक तथा कर्मचारी व्यवस्थापनको लागि एक करोड बजेट विनियोजन गरिएको उनले जानकारी दिए । शिक्षाबाट कुनै पनि बालबालिकाका बञ्चित नहुन् र उनिहरुको क्षमता विकासको लागि अवसर दिने प्रमुख उद्देश्यले विद्यालय सञ्चालन गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिए ।