तनहुँ । रंगहरुको पर्व फागुपूर्णिमा को अवसरमा आँबुखैरेनी गाउँपालिका वडा नं ५ स्थित तनहुँको सबै भन्दा अग्लो चुचुरो छिम्केश्वरीमा छिम्केश्वरी पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला हुने भएको छ । समुन्द्री सतहबाट २ हजार १ सय ३४ मिटरको उचाइमा अवस्थित छिम्केश्वरीमा मेलाको आयोजना गरेको हो ।
गण्डकी प्रदेश कै पर्यटकीय गन्तव्य छिम्केश्वरी जाऔं , राष्ट्रिय फुल लालिगुराँस संगै होली मनाऔं भन्ने नारा सहित यही फागुन २२ गते
फागुपूर्णिमा को दिन आँबुखैरेनी बाङमाय परिषद् को आयोजना आँबुखैरेनी गाउँपालिका वडा नं ५ र छिम्केश्वरी युवा क्लब को सह आयोजना तथा आँबुखैरेनी गाउँपालिका को संरक्षकमा मेला आयोजना हुन लागेको हो । कार्यक्रममा होलीको रमाइलो मेला सहित विभिन्न साहित्यिक तथा संस्कृतिक कार्यक्रम प्राकृतिक मनोरम दृश्य अवलोकन ,राष्ट्रिय तथा स्थानीय कलाकार ,कवि तथा साहित्यकारको प्रस्तुति रहने र कार्यक्रम गण्डकी प्रदेश उद्योग पर्यटन बन तथा वातावरण का मन्त्री रेशम बहादुर जुग्जालीको प्रमुख आतिथ्यमा हुने आयोजकले बताएको छ।
गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएकोबताइन्छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन भने साइली गोरखकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकन सहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीको उत्तरतर्फ मनोरम हिमालका दृश्यहरू धौलागिरी, निलगिरी, अन्नपुर्ण, माछापुच्छ्रे हिमचुली लमजुङ्ग, मनास्लु, गणेश, लाङटाङ सहित दर्जनौं हिमाल आँखै अगाडि हेर्न सकिन्छ । साथै काठमाडौँ, पोखरा, तराईका फाँट र भारतका केही भागसमेत देख्न सकिन्छ। आँबुखैरेनीबाट छिम्केश्वरी जानको लागि १८ किलोमिटर सडकमार्फत ४५ मिनेट को यात्रा तय गरी सजिलै सवारी साधनवाट लाब्धी गाउँ र त्यसपछि ३० मिनेटको पैदल यात्रा गरी पुग्न सकिन्छ ।
छिम्केश्वरी जान पृथ्वी राजमार्ग अन्तर्गत पर्ने तनहुँको आँबुखैरेनीसम्म काठमाडौं, पोखरा, चितवन, गोरखा लगायतका ठाउँबाट विविध यातायातका साधनहरू पर्यटकीय बस, सार्वजनिक यातायातका अन्य बस, माइक्रो, जीप कार तथा मोटरसाइकलमा जान सकिन्छ ।
यस्तै पृथ्वी राजमार्ग अनर्तगत डुम्रे – बन्दिपुर – हिलेखर्क, मार्किचोक – तिलबारी – हिलेखर्क, बरादी९ हिलेखर्क हुँदै तथा मुग्लिन नारायणघाट सडकखण्डको ९ किलो र घुमाउनेबाट पनि छिम्केश्वरी पुग्न सकिन्छ ।