images
images
images

छाब्दी बाराही सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न

images

 तनहुँ
तनहुँको व्यास नगरपालिका वडा नं १ भादगाउँ स्थित छाब्दी बाराही बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले छाब्दी बाराही सहकारी संस्थाले यस क्षेत्रको आर्थिक विकासमा सहयोग पुर्याएकोमा प्रशंसा गर्दै संस्थाको थप प्रगतिको शुभकामना व्यक्त गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि न्यौपानेले विगतका वर्षहरुमा त्यस सहकारी संस्थामा केही आर्थिक अपचलनका गतिविधि भएकोमा हाल आएर सो संस्था सुधारोन्मुख गतिमा अगाडि बढेको बताए । साथै उनले नगर क्षेत्र भित्रका सहकारीको विकास र आर्थिक समृद्धिका लागि नगरपालिका कार्यालयले समन्वयकारी भूमिका खेल्दै उचित सहयोग गर्दै आएको पनि बताए । कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सहकारी बैक दमौलीका शाखा प्रमुख उपेन्द्र दाहालले सहकारी संस्थाहरु सहकारीका सिद्धान्त, नीति, नियमको परिधिमा रहेर सञ्चालन हुनुपर्ने बताउँदै छाब्दी बाराही सहकारी यस क्षेत्रकै उत्कृष्ट र धेरै शेयर सदस्य भएको सहकारी भएकोमा खुशी व्यक्त गरे ।
त्यस्तै, व्यास नगरपालिका वडा नं १ का वडाअध्यक्ष रमेशचन्द्र हड्खलेले यस क्षेत्रको आर्थिक समृद्धिका लागि वडा कार्यालय र सहकारी संस्थाहरुबीचको समन्वय र सहकार्य अपरिहार्य भएको बताउँदै छाब्दी बाराही सहकारीको कार्यसम्पादन र गतिविधिहरु राम्रो रहेकाले वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।


संस्थाका अध्यक्ष लावण्य प्रसाद पण्डितको अध्यक्षतामा भएको सो सभामा संस्थाका सल्लाहकार केश बहादुर सुनार, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले, संस्थाका पूर्व अध्यक्ष ठाकुर बहादुर दरै, शिवालय टोल विकास संस्थाकी अध्यक्ष तिल कुमारी राना, संस्थाका शेयर सदस्यहरु प्रभा श्रेष्ठ, पुरुषोत्तम पण्डित लगायतका वक्ताहरुले छाब्दी बाराही सहकारी संस्था यस क्षेत्रकै आर्थिक विकासका लागि मेरुदण्ड भएकाले थप प्रगतिको शुभकामना व्यक्त गरेका थिए । सो सभामा संस्थाका सचिव बसन्त कंडेलले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष बुद्धि सागर साँखीले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक रामनाथ रिमालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै सभामा संस्थाको बचत तथा ऋण नीति संसोधन साथै मानव संसाधन व्यवस्थापन कार्यविधि, २०७९ पनि प्रस्तुत गरिएको थियो । सभामा तीनवटै प्रतिवेदन र कार्यविधिमाथि छलफल भई पारित गरिएको छ । कार्यक्रममा उपाध्यक्ष जनक काफ्लेले स्वागत मन्तव्यका साथै शेयर सदस्यहरुले उठाएका जिज्ञासाहरुको सहजीकरण गरेका थिए ।
यसैबीच, साधारण सभाका अवसरमा संस्थाकै असल ऋणीमध्येबाट सुनिता शाही र असल बचतकर्ता नेविका श्रेष्ठलाई सम्मान गरिएको थियो ।
वि.सं. २०६५ सालमा स्थापना भएको सो सहकारी संस्थामा हाल १३३९ जना शेयर सदस्यहरु आवद्ध रहेका छन् । संस्थाको शेयर पूँजी ६ करोड २४ लाख २१ हजार रुपैंया, बचत संकलन १० करोड ८८ लाख ४० हजार २३८ रहेको छ भने, संस्थाले १४ करोड ३८ लाख ३३ हजार ५११ रुपैया बरावरको कर्जा लगानी गरेको छ । हाल संस्थाले कूल २० करोड बराबरको कारोबार गर्दै आइरहेको बताइएको छ । संस्थाले मासिक बचत, बाल बचत, दैनिक बचत, विशेष बचत, आवधिक बचत, बृद्ध बचत, एकल बचत लगायतका खाताहरु सञ्चालन गर्दै आइरहेको छ भने घर खर्च, कृषि तथा व्यापार व्यवसाय, आवास र जग्गा खरिद लगायतका क्षेत्रमा कर्जा लगानी गर्दै आइरहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS