दमौली
नमुना विद्याललय दमौली स्थित सत्यवती माविले शिक्षकहरुको क्षमता अभिवृद्धि गर्दै आईरहेको छ । विगतमा आफ्ना विद्यालयमा कार्यरत शिक्षकको मात्रै क्षमता अभिवृद्धि गर्दै आएकोमा हाल तनहुँका अन्य विद्यालयका शिक्षकको समेत क्षमता अभिवृद्धि गरेको हो । यस क्रममा विद्यालयले शनिबार शिक्षकलाई क्षमता अभिवृद्धि तथा परिवर्तित पाठ्यक्रम, पाठ्य पुस्तक र विशिष्ठीकरण तालिका आदिका बारेमा शिक्षकलाई प्रशिक्षण समेत दिईएको छ । आफ्ना विद्यालयको मात्रै नभई अन्य विद्यालयका शिक्षकहरु पनि लाभान्वित भई शैक्षिक गुणस्तर वृद्धिमा टेवा बताए ।
व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा नगरप्रमुख न्यौपानेले सत्यवतीको सरह अन्य विद्यालयले शिक्षा प्रदान गर्न सक्नु पर्ने बताए । सत्यवती विद्यार्थी धेरै भएर भर्ना गर्न नसक्ने अवस्था आएको उल्लेख गर्दै नगर प्रमुख न्यौपानेले त्यसको विकल्प सोच्नु पर्ने बेला आएको बताए । सत्यवतीको शिक्षकहरुहरु अन्य विद्यालय सारेर गुणस्तरीय प्रदान गर्न सकिने भएकोले त्यसतर्फ सोचाई आएको बताए। कार्यक्रममा व्यास नगरपालिका वडा नम्बर २ वडाध्यक्ष काशीराम श्रेष्ठले यस्ता कार्यक्रमले शिक्षकहरूबीच सम्बन्ध र सहकार्य विकास गरी शिक्षण सिकाइमा सुधार ल्याउन मद्धत पुग्ने विश्वास व्यक्त गरे। शिक्षकलाई व्यास नगरपालिकाका प्रमुख न्यौपाने, गण्डकी प्रदेश शिक्षा निर्देशक अम्बिका आचार्य, शिक्षा विभाग उपसचिव डा. गणेशप्रसाद भट्टराई, लगायतले प्रशिक्षण दिएका थिए ।
पाठ्यक्रम समय समयमा परिवर्तन हुने सोही अनुसार शिक्षक पनि परिवर्तन हुन जरुरी रहेकोले प्रशिक्षण सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङले बताए। गुणस्तरीय शिक्षाका लागि शिक्षक योग्य, सक्षम, शैक्षणिक कलाकौशलले निपुण हुनु जरूरी भएकोले प्रशिक्षणको आयोजना गरिएकोे प्रधानाध्यापक गुरुङ बताउछन् । नेपालमा सरकारले शिक्षकको पेशागत विकासलाई महत्वका साथ कार्यान्वयन गर्दै आएको भए तापनि जति फलदायी हुनु पर्ने हो त्यती नभएकोले तालिमप्राप्त शिक्षकहरूबाट समग्र शिक्षाको गुणस्तर कायम हुनसकेकोले यस्ता प्रशिक्षणलाई व्यापकता दिइनु पर्ने कार्यक्रममा वक्ताहरुको जोड रहेको थियो । विना दक्षता, विना तालिम र पर्याप्त पेशागत ज्ञान तथा सीपको अभाव बीच नै पठनपाठन गर्न बाध्य हुने गरेका र यसको प्रत्यक्ष असर सिकारुको सिकाइ उपलब्धिमा पर्ने हुँदा प्रशिक्षण कार्यक्रम प्रत्येक शिक्षकलाई प्रदान गर्ने खालको योजना आवश्यक रहेको पनि वक्ताहरुको भनाई रहेको थियो ।
व्यास नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख नबिन पराजुलीले व्यास नगरपालिकाले गर्नु पर्ने कार्य सत्यवतीले गरेको भन्दै प्रशंसा गरे। नगरपालिकाको तर्फबाट पनि प्रशिक्षण तथा तालिम भविश्यमा गरिने बताए। शिक्षण कलाकौशलको विकास, योग्यता अभिवृद्धि र विकसित सक्षमताको प्रभावकारी प्रयोग गरी शिक्षण तथा सिकाइ उपलब्धिमा अपेक्षित सुधार हुने अपेक्षा विद्यालयले लिएको छ । एक दिने प्रशिक्षण कार्यक्रम दुई भागमा विभाजन गरिएको थियो ।
शिक्षण सिकाइको विधि तथा प्रक्रियालाई स्तरीकरण गर्नु अत्यावश्यक हुने भएकोले यस्ता प्रशिक्षण गरिनु आवश्यक रहेको शिक्षा विभागका उपसचिव भट्टराईले बताए । सरकारले पाठ्यक्रम परिमार्जन गरी रोजगारमूलक व्यवसायमा आधारित पाठ्यक्रमको व्यवस्था गरेको छ । रोजगारमूलक विषय पठनपाठन गर्ने शिक्षकको पेशागत विकासको कुनै पाठ्यक्रम तय भएको देखिदैन । यसले शिक्षकहरू विना दक्षता, विना तालिम र पर्याप्त पेशागत ज्ञान तथा सीपको अभाव बीच नै पठनपाठन गर्न बाध्य हुने गरेका छन् । यसको प्रत्यक्ष असर सिकारुको सिकाइ उपलब्धिमा पर्ने गरेको बताइन्छ ।