दमौली, १४ असार ।
पहाडकी रानी उपनाउँले परिचित बन्दिपुरका होटल,रेष्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरीको प्रयोग गरिने भएको छ ।
पर्यटकीय गन्तव्यस्थलको प्रचूर सम्भावना रहेको बन्दिपुरका होटल व्यवसायमा अनिवार्य रुपमा टपरीको प्रयोग गर्न व्यवस्था मिलाइने गाउँपालिका कार्यालयले मिलाएको छ । उत्पादित टपरीको बजारीकरणको लागि गाउँपालिकाले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।
प्रयोग पश्चात टपरीलाई कम्पोष्ट मल बनाउन प्रयोग गरिने हुँदा वातावरण सफा र स्वच्छ हुने बिश्वास गरिएको उनले बताए ।
गण्डकी प्रदेश सरकारको गरीबि निवारण उद्यमी विकास कार्यक्रम मार्फत बन्दिपुर गाउँपालिका–६ को कमलबारी डाँडाछाप उद्यमी महिला विकास संस्थालाई टपरी बनाउने मेशिन हस्तान्तरण गरी तालिम प्रदान गरिएको हो । उक्त मेशिन रु.दुई लाख तेह्र हजार पाँच सयको लागतमा खरीद गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए ।
मेशिनबाट टपरी बनाउने तालिमको सोमबार गाउँपालिकाका अध्यक्ष थापाले एक कार्यक्रमका बीच उद्घाटन गरेपछि तालिम संञ्चालन गरेको हो । सुकाएको सालको पातलाई मेशिनमा राखेपछि अटोमेटिक टपरी निर्माण हुने रहेछ । उनले भने ‘शुरुमा मानिसले चार वटा पातलाई सिन्काले सिलाएर मेशिनमा राख्नुपर्छ ।’
उक्त तालिममा सहभागि स्थानीय बाह्र जना महिलाको लागि एक जना प्रशिक्षक राखेर तालिम प्रदान गरिएको छ ।
उत्पादन गरिएका टपरी बन्दिपुर कोसेली घरमा राखेर पनि बिक्री बितरणको व्यवस्था मिलाइने गाउँपालिका कार्यालयले जनाएको छ ।
बन्दिपुर– २ बसपार्क स्थित टुँडिखेल चोकमा बन्दिपुर कोसेली घर निर्माण गरिएको छ ।
गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि आयआर्जनका माध्यमतर्फ उन्मुख गराउन थालेको गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ्गले जानकारी दिइन् ।