तनहुँ । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा भोलि चैत १० गते बिहिबारदेखि तनहुँ महोत्सव सुरु हुँदैछ । २०६३ सालदेखि सुरु भएको तनहुँ महोत्सवको यो आठौं संस्करणको हो । महोत्सव आगामी चैत २० गतेसम्म संचालन हुनेछ ।
गत पौष २९ गतेदेखि सुरु हुने भनिएको महोत्सव कोरोनाको कारण स्थगित भएको थियो । आठौं तनहँ महोत्सव जिल्लाको व्यास नगरपालिका-३, वि.पि. बनवाटिकाको खुला मैदानमा हुनेछ ।
प्रधानमन्त्री देउवाद्वारा उद्घाटन
महोत्सवको उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने आयोजक तनहुँ उद्योग वाणिज्य संघले जनाएको छ । बिहिबार जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन तनहुँ आउन लागेका प्रधानमन्त्री देउवाले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
आयोजकमा जिल्ला समन्वय समिति तनहुँ र व्यास नगरपालिका समेत रहेकोे छ । महोत्सवको सह-आयोजकमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई रहेको छ ।
महोत्सवको सम्पूर्ण स्टल बुक भईसकेको आयोजक तनहुँ उद्योग वाणिज्य संघले जनाएको छ । व्यापारीक प्रयोजन र कृषि, हस्ताकला लगायतका गरी दुई सय दश वटा स्टल निर्माण गरिएको छ । महोत्सव स्थल भित्र स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइएको संघले जनाएको छ ।
आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, साँस्कृतिक, पर्यटकीय स्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवर्द्धन गर्ने महोत्सवको उद्देश्य रहेको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
स्वदेशी तथा विदेशी गरि करिब ४ लाख दर्शकहरूले तनहुँ महोत्सव अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । महोत्सवमा कुल कारोबार ६ करोड हुने अपेक्षा गरिएको संघले जनाएको छ ।
कुल आम्दानी ८० लाख रुपैयाँ र खुद आम्दानी १५ लाख ३५ हजार हुने अनुमान गरिएको संघका अध्यक्ष श्रेष्ठले बताए ।
स्थानीय कलाकारलाई समेत यसपटकको महोत्सव राम्रो स्थान दिइने संघले जनाएको छ । स्थानीय व्यवसायी संग छलफल गरेर अगाडि बढ्ने संघका महासचिव सुबोध अधिकारीले जानकारी दिए । संघले स्थायी प्रदर्शनी तथा अवलोकन केन्द्र जिल्लाका पालिकाहरु संग समन्वय गरि अगाडी बढाउने जनाएको छ ।
महोत्सवमा स्थानीय कलाकार देखि राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारहरुको सहभागिता रहनेछ । महोत्सवमा राष्ट्रिय कलाकार शिव परियार, छेवाङ लामा, सविन राई, रचना रिमाल, एलिना चौहान, मिलन अमात्य, ज्योति मगर, प्रीति आले, कला लम्साल लगाएका कलाकार ल्याउने तयारी रहेको छ । यस्तै महोत्समा २-३ दिन कन्सर्ट समेत गर्ने तयारी आयोजकको छ ।
आठौं तनहुँ महोत्सवको तयारी स्वरुप दमौली बजार क्षेत्रलाई सिगारिएको छ । दमौलीको ट्राफिक चोकमा मुख्य स्वागत गेट निर्माण गरिनुका साथै सडकका दायाँ बायाँ किनारमा रङ्गरोगन गरी चिटिक्क बनाइएको छ । बजारक्षेत्र देखि महोत्सवस्थलसम्म ध्वजापतका टाँगेर झिलीमिली र आर्कषक बनाइएको छ ।
व्यास नगरपालिका–३ बिपी बनबाटिकामा आयोजित महोत्सवस्थलमा स्टल,स्टेज निर्माण, बुकिङ कार्य र महोत्सवको तयारी पुरा भएको तनहुँ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष एवं प्रवक्ता इम कुमार मल्लले जानकारी दिए ।
कला र संस्कृतिको जगेर्ना गरिने
स्थानीयस्तरमा उत्पादित कृषि,घरेलु,हस्तकला उत्पादनलाई बढ्वा दिदै लोपोन्मुख भाषाभाषी, कलासंस्कृतिको संरक्षणमा महोत्सवले थप टेवा पुग्ने बिश्वास लिइएको छ । त्यसैगरी लोपोन्मुख बन्दै गएका चुड्का, कौरा,बालन नाच, पाउदुरे, टाकटुके, मारुनी, लाखे नाचलाई प्राथामिकतामा राखिएको प्रवक्ता मल्लले जानकारी दिए ।
सेती र मादी नदिमा मोटरबोट
तनहुँ महोत्सवमा नयाँ आकर्षणको रुपमा मोटरबोट संचालन हुने भएको छ । सेती र मादी नदीमा मोटरबोट संचालन गरिने आयोजक तनहुँ उद्योग वाणिज्य संघले जनाएको छ ।
मोटरबोट दमौलीमा पहिलो प्रयास भएको आयोजकले बताएको छ । करिब ४ किलोमिटर दुरीमा मोटरबोट संचालन हुनेछ । प्रति व्यक्ति २५० रुपैयाँ शुल्क लिएर संचालन गरिने आयोजकले जनाएको छ । मोटरबोटमा चड्ने प्रति यात्रुलाई लाइफ ज्याकेट, प्रतिव्यक्ति साढे ७ लाखको बिमा समेत गरिने छ ।
महोत्सवमा २ वटा मोटरबोट चलाइने भएको छ । एउटा बोटमा क्याप्टेन सहित १० जनाको क्षमता हुनेछ । पर्यटन प्रवर्द्धन र रोजगारीको अवसर सिर्जना हुने आयोजाकले विश्वाश छ ।
लाइभ लोक दोहोरी प्रतियोगिता
यस्तै महोत्सवमा लाइभ लोक दोहोरी प्रतियोगिता हुने भएको छ । जसमा प्रथम, दित्तीय र तृतीय हुनेले क्रमश: २५ हजार, १५ हजार र १० हजार र सान्त्वना ५ हजार पुरस्कार पाउने छन् । अहिले सम्म प्रतियोगितामा १० टिमको नाम आएको आयोजकले जानकारी दिएको छ ।
महोत्सव स्थलमा टिकटक पार्क समेत बनाइएको आयोजकले जनाएको छ । पछिल्लो समय टिकटक प्रतिको युवाहरुको आकर्षणका कारण पार्क बनाइएको संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।