तनहुँ । रोटरी क्लब अफ दमौली, रोट्रयाक्ट क्लब अफ दमौली, इनरव्हील क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ वेदव्यासको संयुक्त आयोजना तथा एपेक्स मलको सहयोगमा दमौलीमा तेस्रो होली महोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।
दमौलीको एपेक्स मल प्रांगणमा सम्पन्न उक्त कार्यक्रममा हर्षोल्लासका साथ सबै उमेर समूहका मानिसले एकै साथ एकै ठाँउमा होलीको उत्सव मनाएका थिए ।
साथै कार्यक्रममा डिजे सिद्धान्त श्रेष्ठको प्रस्तुती अर्को आकर्षण रहेको थियो । उनको प्रस्तुतीमा बिहानैदेखि युवा युवतीहरु निकै रमाएका थिए ।
एक आपसमा रंग आदनप्रदान गर्दै सामाजिक सद्भाव , शान्ति र एकता कायम गर्ने उद्देश्यले क्लबले हरेक वर्ष होलि विशेष कार्यक्रम गर्दै आएको भएपनि कोभिडका कारण विगतका दुइ वर्ष कार्यक्रम आयोजना गर्न नसकिएको रोटरी क्लब अफ दमौलीका अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रम शुभारम्भ गर्दै संविधान सभा सदस्य एवम् रोटरी क्लब अफ दमौलीका संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेलले होली पर्वले आपसी सद्भावका साथसाथै धार्मिक आस्था र संस्कृतिको संरक्षण र सवद्र्धनमा सहयोग पुग्ने बताए । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख एवम् रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष बैकुण्ठ न्यौपानेले एक आपसमा रंग आदानप्रदान गर्दै फागुपुर्णिमाको शुभकामना बाड्नाले सामाजिक सद्भाव कायम रहने बताए ।
कार्यक्रममा रोटरी क्लब अफ दमौलीका सचिव बिना कैनी, इनरव्हील क्लब अफ दमौलीका अध्यक्ष मन्जु थापा, पुर्व अध्यक्ष निर्मला मल्ल, रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष सुशान्त अधिकारी, रोट्रयाक्ट क्लब अफ वेदव्यासका संस्थापक अध्यक्ष सन्जु घले, एपेक्स मलका सुपरभाइजर उज्वल भट्टराई लगायतले शुभकामना मन्त्व्य राखेका थिए ।
कार्यक्रममा डिजे सहित निशुल्क प्रवेशको व्यवस्था गरिएकाले पनि युवाहरुको आकर्षण बढी रहेको कार्यक्रम संयोजक रोट्रयाक्ट क्लब अफ दमौलीका इलेक्ट प्रेसिडेन्ट विशाल श्रेष्ठले जानकारी दिए ।
बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रम बेलुका ५ बजेसम्म चलेको श्रेष्ठले बताए । उनले भने ‘कुनै पनि बेला कार्यक्रममा मानिसहरुको उपस्थिती पातलो भएन, यसले हामीलाई अझै उत्साह र हौसला मिलेको छ, साथै कार्यक्रम निकै सभ्य वातावरणमा सम्पन्न भयो’ हामी हर्षित छौं ।
अत्याधुनिक सेवा सहित हालै सञ्चालनमा आएको एपेक्स मलले प्रत्येक वर्ष होली पर्वलाई स्थानीय संघ संस्थासँग समन्वय गरेर मनाउने योजना अनुसार यस पटक रोटरी क्लब अफ दमौलीसँग समन्वय गरेर कार्यक्रमको लागि सहयोग गरेको मलका विजनेस हेड शुशिल न्यौपानेले बताए ।