तनहुँ । स्कुले विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर लमजुङको सिउँडीबार क्षेत्रमा जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार बिहान ६ बजेदेखि लगाएको निषेधाज्ञा राती ९ बजेदेखि हटाएको छ ।
लामो तथा छोटो दुरीमा हिँडेका यात्रुलाई मध्यनजर राखेर सवारी साधन भने संचालनमा गर्न आदेश दिएको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले बताए ।
बुधबार बिहान ६ बजेदेखि जारी गरेको निषेधाज्ञा १५ घण्टापछि हटेको हो ।
गन्तव्यमा हिँडेका सवारी साधनमा यात्रुहरु बाइसजाँगर, भोटेओडार, डुम्रे, मुग्लिनलगायत क्षेत्रमा अलपत्र परेपछि प्रशासनले निषेधाज्ञा हटाएर सडक खुलाएको हो ।
सडक खुलाउने विषयमा पीडित पक्ष सहमतिमा आएपछि तनहुँको बाइसजाँगरमा पनि अवरोध हटेको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासनमा भएको पीडित र पीडक पक्षबीचको वार्ता सकरात्मक भएको प्रमुख जिल्ला अधिकारी बैद्यले बताए ।
पीडित, पीडक र प्रशासनबीच करीब ६ घण्टा प्रशासन कार्यालयमा बार्ता भएको थियो ।
३ बुदे सहमति
त्रिपक्षबीच घटनाको सुक्षम तरिकाले गम्भीर अनुसन्धान हुने, शवको पोष्टमार्टम गर्ने, प्रहरीमा लिखित जाहेरी दिने सहमति भएको छ ।
यसअघि नियन्त्रमा लिएका फ्युचर स्टार आवासीय माविका वार्डेन सरोज अमलिया र एकजना विदाथीलाई प्रहरी नियन्त्रणमै राख्ने र संचालक बाबुराम पौडेललाई निगरानीमा राखिने प्रहरीले जनाएको छ ।
सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माविमा १० कक्षामा अध्ययनरत तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका १८ वर्षीय सनिज श्रेष्ठको मंगलबार दिउँसो मर्स्याङ्दीले बगाएर मृत्यु भएको थियो ।
होस्टेलमा बसेका विद्यार्थीलाई वार्डेनले बोलाएर पौडी खेल्न गएको र मृत्यु भएको भन्दै पीडित परिवार आक्रोसित छन् । उनीहरुले विद्यालयका संचालक बाबुराम पौडेल र वार्डेन सरोज अमलियालाई कारबाहीको माग गरेका छन् ।
पीडितपक्ष कानुनी प्रक्रियाबाट अघि बड्न सहमत भएपछि निषेधाज्ञा खुलेको हो ।
मृतकका बुवा महेन्द्र श्रेष्ठले कुनैपनि हालतमा स्कुलका संचालक बाबुराम पौडेल र होस्टेल वार्डेन सरोज अमलियालाई कारबाही गर्न माग यथावत रहेको बताए ।
उनले आफ्ना मागहरु यथावत रहेको र कानुनी प्रक्रियामा जान सहमति भएको बताए ।
संचालक पौडेलले कानुन बमोजिम राहत तथा क्षतिपूर्ति दिने र त्यसबाहेक केही गर्न नसक्ने अडान यथावत राखेका छन् ।
लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी १८ बर्षीय सनिज श्रेष्ठको मंगलबार मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगाएर मृत्यु भएको थियो ।
विदाको दिन वार्डेनले नै लगेर नियोजित रुपमा पौडी खेल्न लगाएको र मृत्युको कारण वार्डेन साथै विद्यालय परिवार रहेको पीडितपक्षको आरोप छ ।
होस्टेलका विद्यार्थीलाई जवर्जस्ती पौडी खेल्न लगेको, पौडी खेल्न अगाडि धकेलेको, आफन्तलाई थाहै नदिइ शव लगेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।