तनहुँ । चालु आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा तनहुँमा १ हजार ६५ वटा नयाँ उद्योग दर्ता भएका छन् । चालु आवको पुससम्म सबै शीर्षकमा गरी घरेलु तथा साना उद्योग कार्यालय तनहुँमा उक्त सङ्ख्यामा उद्योग दर्ता भएका हुन् ।
कार्यालयमा उत्पादनमूलक उद्योग, कृषिजन्य, ऊर्जामूलक, खनिजजन्य, पूर्वाधार, पर्यटनमूलक र सेवामुलक र सूचना प्रविधि शीर्षकमा उद्योगहरू दर्ता हुँदै आएका छन् । कार्यालयमा निजी र साझेदारी गरी लघु उद्यम, घरेलु उद्योग र साना उद्योग गरी तीन प्रकृतिका उद्योगहरू दर्ता हुने गर्दछ ।
दर्ता भएका उद्योगहरूमध्ये सबैभन्दा बढी दर्ता कृषिजन्य उद्योगमा भएका छन् भने सबैभन्दा कम पुर्वाधार उद्योगमा भएका छन् । जसअनुसार सो अवधिमा कृषिजन्य उद्योगमा ६ सात २१ वटा उद्योग र पूर्वाधारमा २ वटा मात्र उद्योग दर्ता भएका छन् । यस्तै उत्पादनमूलक उद्योगमा ७४ वटा र पर्यटनमूलक उद्योग १ सय ९७ वटा, सेवामुलकमा १ सय ६६ वटा, सूचना प्रविधिमा ४ वटा दर्ता भएका छन् भने अन्य खनिजजन्य र उर्जामुलक शीर्षकमा कुनै पनि उद्योग दर्ता भएका छैनन् ।
कार्यालय की उद्योग प्रशासन शाखा प्रमुख मेनका कट्टेलले तनहुँ कृषिजन्य उद्योगमा अनुकूल स्थान र उर्वरभूमि भएकोले पनि यस शीर्षकमा बढी उद्योग दर्ता हुने गरेको बताईन ।
३० लाख बढी राजश्व सङ्कलन
चालु आर्थिक वर्षको ६ महिनामा दर्ता भएका उद्योगहरूबाट कार्यालयले ३० लाख भन्दाबढी राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार सबै शीर्षक गरी दर्ता भएका उद्योगहरूबाट ३० लाख ४३ हजार रुपैंया राजश्व सङ्कलन भएको शाखाकी प्रमुख कट्टेलले जानकारी दिईन ।