तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले आफ्नो अभिव्यक्ति कुनै समुदाय र जातिप्रति नरहेको भन्दै सबैप्रति आफ्नो सम्मान रहेको पनि बताएका छन् ।
मन्त्री श्रेष्ठले आफ्नो अभिव्यक्तिलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको टिप्पणीप्रति ध्यानाकर्षण भएको पनि बताए ।
‘तनहुँमा गत सोमबार आयोजित कार्यक्रममा मैले दिएको अभिव्यक्तिबारे आम सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका टिप्पणीप्रति मेरो ध्यानाकर्षण भएको छ । मधेशी समुदाय र कुनै राजनीतिक दलको मर्यादामा आँच पुर्याउने मेरो कुनै मनसाय नरहेको स्पष्ट पार्न चाहन्छु, ‘ उनले भनेका छन्, ‘मेरो भाषणमा असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने पूर्ववर्ती सरकारको प्रवृत्ति र प्रतिनिधिसभा विघटनपछि काम चलाउ हैसियतमा पुगेका बेला अमुक पार्टीको एउटा पक्षबाट ११ जनालाई मन्त्री बनाइएको कुरा स्मरण मात्र गरिएको हो ।
मैले प्रयोग गरेका शब्दका कारण कोही कसैको भावनामाथि चोट पुगेको भए म त्यसप्रति आत्मआलोचित छु । मधेशीसहित देशका सबै जाति र समुदायप्रति मेरो उच्च सम्मान रहेको छ ।’
मन्त्री श्रेष्ठले आफूले दिएको अभिव्यक्तिबारे पार्टीलाई पनि प्रष्ट पार्ने बताए ।
उनले गृह जिल्ला तनहुँमा सोमबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा मधेसी समुदायप्रति लक्षित गरेर अभिव्यक्ति दिएका थिए ।