तनहुँको भिमाद बजारमा आयोजना हुन लागेको ‘६८ करोड कप–२०८३’ क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता को तयारी तीव्र पारिएको छ। पिरुङ्ग स्पोर्टस् क्लबको आयोजना तथा टिम ६८ करोडको सह–आयोजनामा हुने प्रतियोगिता आगामी असार १७ गतेदेखि २० गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष विवश आलेले जानकारी दिए।
प्रतियोगिताको विजेताले रु. १ लाख ११ हजार ६८, उपविजेताले रु. ७७ हजार ६८ तथा तृतीय स्थान हासिल गर्ने टोलीले रु. ४४ हजार ६८ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सान्त्वना स्थानका लागि समेत रु. २२ हजार ६८ पुरस्कारको व्यवस्था गरिएको खेलकुद संयोजक सुनिल थापाले बताएका छन्।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई रु. ५ हजार ६८ प्रदान गरिनेछ भने । उत्कृष्ट स्पाइकर, ब्लकर, सेन्टर, डिफेन्डर, सर्भर, उदयमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु. ३ हजार ६८ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रत्येक टोलीले बढीमा तीन जना NVA खेलेका खेलाडी मात्र समावेश गर्न पाउने नियम राखिएको छ।
भिमादमा भलिबल खेलको विकास, खेलाडीको प्रतिभा उजागर तथा खेलप्रेमी दर्शकलाई रोमाञ्चक प्रतिस्पर्धाको अनुभूति दिलाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले यस क्षेत्रको खेलकुद गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ। “खेलौं, एकजुट बनौं, गौरव जितौं” भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताप्रति खेलाडी तथा दर्शक माझ उत्साह बढ्दै गएको छ।















