दमाैली । १८औँ गणतन्त्र दिवस २०८२ को अवसरमा तनहुँ जिल्लामा जेठ १४ र १५ गते विविध कार्यक्रम आयोजना गरिने भएको छ । जिल्ला समन्वय समितिको निर्णयअनुसार सरकारी निकाय, संघ–संस्था तथा विभिन्न सरोकारवालाको सहभागितामा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
कार्यक्रमअन्तर्गत सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघ–संस्थाका कार्यालयमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजावट गरिनेछ भने रेडियो परिसंवाद कार्यक्रम र विशेष समाचार प्रकाशनसमेत गरिनेछ । साथै घर–घरमा दीपावली गर्न आग्रह गरिएको छ ।
जेठ १४ गते बिहान ७ बजे व्यास नगरपालिका–३ स्थित अनसन चौतारीदेखि मादी नदी किनार, शिव पञ्चायन मन्दिर क्षेत्रलगायत सार्वजनिक स्थलमा विशेष सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ ।
सोही दिन बिहान ७ः३० बजेदेखि १ः३० बजेसम्म अनसन चौतारी, दमाैलीमा नागरिक स्वास्थ्य जाँच कार्यक्रम आयोजना गरिने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय, दमाैली अस्पताल तथा व्यास नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा उक्त कार्यक्रम सञ्चालन हुनेछ ।
त्यस्तै, जेठ १४ गते बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म व्यास–१४ केशवटारमा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचारसहितको स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । प्रदेश अस्पताल दमाैलीले उक्त कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।
यसैगरी, निर्मल माध्यमिक विद्यालय विज्ञानचौरमा मुटुसम्बन्धी स्वास्थ्य जाँच कार्यक्रम पनि सञ्चालन गरिने भएको छ ।
जेठ १५ गते बिहान ७ः१५ बजे प्रशासन चोक, अनसन चौतारीबाट झण्डोत्तोलन कार्यक्रम गरिनेछ भने बिहान ७ः३० बजे प्रभातफेरी निकालिने कार्यक्रम तय गरिएको छ । प्रभातफेरी प्रशासन चोकबाट सुरु भई विभिन्न स्थान परिक्रमा गर्दै दमाैली सभाहलमा पुगेर समापन हुनेछ ।
त्यसपछि बिहान ८ः१५ बजे दमाैली सभाहलमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिनेछ । साथै बिहान ९ः३० बजे दमाैली अस्पतालमा फलफूल वितरण कार्यक्रम गरिने जनाइएको छ ।
गणतन्त्र दिवसकै अवसरमा जेठ १५ गते साँझ ७ बजे प्रशासन चोक, अनसन चौतारीमा दीप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ ।















