दमौली, तनहुँ। प्रदेश आयुर्वेद चिकित्सालय, दमौली तनहुँद्वारा प्रदेश अस्पताल तनहुँको समन्वयमा अस्पतालका कर्मचारीहरूका लागि “तनाव व्यवस्थापन कार्यक्रम” सम्पन्न गरिएको छ। कार्यक्रम चिकित्सालयको योगहलमा आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश अस्पताल तनहुँका व्यवस्थापन समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता श्री कमला मोहन वाग्ले रहनुभएको थियो। विशेष अतिथिहरूमा गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. रमेश कुमार के.सी., प्रदेश अस्पताल तनहुँका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बराल तथा प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका कार्यालय प्रमुख जनस्वास्थ्य प्रशासक श्री अमर दवाडी रहनुभएको थियो।
कार्यक्रममा प्रदेश अस्पताल दमौली व्यवस्थापन समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरूले बिरामीको सेवासँगै आफ्नै मानसिक स्वास्थ्यप्रति पनि सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, कार्यक्रममा गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. रमेश कुमार के.सी.ले तनाव व्यवस्थापन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुका साथै सहभागीहरूलाई योग तथा ध्यान अभ्याससमेत गराउनुभएको थियो।
प्रदेश आयुर्वेद चिकित्सालय तनहुँका प्रमुख डा. नारायण श्रेष्ठले वर्तमान समयमा तनाव व्यवस्थापन अत्यन्त आवश्यक विषय भएको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरू मानसिक रूपमा स्वस्थ रहनु सेवा प्रवाहका लागि महत्वपूर्ण रहेको बताउनुभयो।
कार्यक्रमको सञ्चालन प्रदेश आयुर्वेद चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक श्री शम्भु चापागाईंले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रदेश अस्पताल तनहुँका अस्पताल व्यवस्थापक श्री शिशिर पोखरेलले गर्नु भएको थियो।
कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले मानसिक स्वास्थ्य, तनाव नियन्त्रण तथा योग अभ्यासको महत्वबारे जानकारी प्राप्त गरेका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले कर्मचारीहरूको मानसिक तथा शारीरिक स्वास्थ्य सुधार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।















