काठमाडौँ । प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्कराज राईलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन् ।
राईले केही दिन यता प्रतिनिधि सभा बैठकमा प्लेकार्ड प्रदर्शन गर्दै आएका छन् । बुधबार बसेको बैठकमा पनि उनले प्लेकार्ड प्रदर्शन गरेपछि सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली अनुसार सचेत गराए ।
सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम ३० बमोजिम आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका हुन् ।
प्रतिनिधि सभा नियमावलीको नियम ३० मा चेतावनी सम्बन्धी व्यवस्था छ । उक्त नियममा भनिएको छ, ‘बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्नेछ ।’
सभामुख अर्यालको यस्तो चेतावनीपछि सांसद राईले पनि नियमावलीमै टेकेर सभामुखलाई प्रश्न गरे । उनले सभामुख अर्याललाई ‘प्रतिनिधि सभा नियमावलीको नियम १५ पालना गराउनु भयो ?’ भनेर प्रश्न गरे ।
प्रतिनिधि सभा नियमावलीको नियम १५ मा शून्य र विशेष समय सम्बन्धी व्यवस्था छ । नियम १५ को उपनियम (१)मा भनिएको छ, ‘सदस्यले आवश्यक महसुस गरेका समसामयिक विषय प्रस्तुत गर्नका लागि सभामुखले शून्य र विशेष समय तोक्न सक्नेछ ।’
सोही उपनियममा अगाडि भनिएको छ, ‘तर अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठक बिचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले ढ्यापढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछ ।’रातोपाटी














