माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजालाई लिएर गोरखाका ६ वटा विद्यालयले असन्तुष्टि व्यक्त गरेका छन् ।
सदरमुकामस्थित शक्ति माध्यमिक परीक्षा केन्द्रबाट परीक्षा दिएका ती विद्यालयहरूले उत्तर पुस्तिका परीक्षणमा चरम लापरबाही र पूर्वाग्रह राखिएको आरोप लगाएका हुन् ।
उनीहरुले उत्तर पुस्तिका पुनःपरीक्षण गर्न तथा शक्ति मावि परीक्षा केन्द्रलाई कारबाही गर्न माग गरेका छन् । जिल्ला र पालिकास्तरमै उत्कृष्ट नतिजा ल्याउँदै आएका विद्यालयहरूको नतिजा यसपटक अस्वाभाविक रूपमा निराशाजनक आएपछि विद्यालयहरूले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् ।
गोरखा नगरपालिका ९ को महालक्ष्मी मावि, वडा नम्बर १० को रत्नराज्य मावि, पालुङटार नगरपालिका ९ को त्रिवेणी मावि, आरुघाट गाउँपालिका २ को भवानी मावि, भिमसेनथापा गाउँपालिका ६ को नवजागृति चण्डी मावि र गण्डकी गाउँपालिका ६ को ज्ञानमार्ग माविले संयुक्त विज्ञप्ति निकालेका हुन् ।
शक्ति मावि परीक्षा केन्द्रले प्रतिशोधपूर्ण भावनाका साथ परीक्षा सञ्चालन गरेको र गैर विषयगत शिक्षकलाई उत्तर पुस्तिका परीक्षण गर्न दिएको आरोप विज्ञप्तिमा लगाइएको छ ।
विशेष गरी गणित, विज्ञान र भूगोल विषयको उत्तर पुस्तिका परीक्षणमा चरम लापरबाही भएको उनीहरूको दाबी छ । कक्षा १० को गणित विषयमा नियमित पठनपाठनमै संलग्न नभएका भौतिक विज्ञानका शिक्षक तिलक केसीलाई गणितको उत्तर पुस्तिका परीक्षण गर्न दिइएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, विज्ञान र भूगोल विषयको उत्तर पुस्तिका पनि पूर्वाग्रही रूपमा र सम्बन्धित विषयबाहिरका शिक्षकबाट परीक्षण गराइएको उनीहरूको गुनासो छ । विद्यालयहरूले आगामी वर्षहरूका लागि शक्ति माविको परीक्षा केन्द्र खारेज गर्नसमेत माग गरेका छन्।
शिक्षा विकास तथा समन्वय एकाइ गोरखाका प्रमुख विश्वप्रकाश रेग्मीले राष्ट्रिय परीक्षा बोर्डले आवश्यक छानबिन गरी निर्णय लिने जानकारी दिए । ‘बोर्डले केही उत्तरपुस्तिकालाई नमुनाका रूपमा हेरेर निर्णय गर्नेछ,’ उनले भने, ‘सुरुमा विद्यालयहरूको एसईई नतिजा पुनर्योग हुन्छ । यदि त्यसमा पनि चित्त नबुझेमा मात्र उत्तरपुस्तिकाको पुनः परीक्षण हुन सक्छ।’
रेग्मीले केन्द्रबाटै सबै पक्ष हेर्ने भएकोले थप सूचना आएपछि खबर हुने बताए । ‘कुनै विषयमा चित्त नबुझे आफ्ना गुनासा र असन्तुष्टिहरू सम्बन्धित निकायमा राखेर समाधान र छानबिनको माग गर्ने हो । उहाँहरूले माग गरिसक्नुभएको छ,’ अघि भने, ‘परीक्षा बोर्डले कपी हेरेपछि लापरबाही भएको/नभएको प्रस्ट देखिहाल्छ । आवश्यक परेमा पुनः परीक्षणको निर्णय पनि केन्द्रबाटै हुन्छ ।’ उनले विषय शिक्षकभन्दा अरूले उत्तर पुस्तिका परीक्षण सम्भव नभएको बताए।
नयाँ पाठ्यक्रम लागू भएको अवस्थामा अघिल्लो वर्ष उक्त विषय पढाएको शिक्षकलाई पनि उत्तर पुस्तिका परीक्षण गर्न दिन मिल्छ । तर, विषय शिक्षक नै होइन, पढाएकै छैन र कक्षामा नै नगएको शिक्षकले परीक्षण गरेको प्रमाणित भएमा त्यो सिधै कारबाहीको दायरामा आउँछ,’ थपे, ‘यस विषयमा केन्द्रले नमुना हेरेपछि सबै प्रस्ट भइहाल्छ।’
आफूमाथि आरोप लागेपछि शक्ति माविले पनि विज्ञप्ति जारी गर्दै आरोपहरूको खण्डन गरेको छ । परीक्षा व्यवस्थापन र अनुगमनका क्रममा आफ्नो केन्द्र सर्वत्र प्रशंसनीय बनेको दाबी गर्दै शक्ति माविले आफूमाथि लगाइएका आरोपहरू पूर्णतः झुटो र पूर्वाग्रही रहेको जनाएको हो।
आफूहरू छानबिन प्रक्रियामा हरपल सहयोग गर्न तत्पर रहेको विद्यालयले स्पष्ट पारेको छ । विद्यालयले सम्बन्धित निकायलाई निष्पक्ष र सत्यतथ्य छानबिन गर्न चुनौतीसमेत दिएको छ। रातोपाटी















